
सुवर्णलाल श्रेष्ठ र श्रीराम अर्जुन दाहाल (इमेज)
हेटौंडा, असार १३ । वाग्मती प्रदेशका स्थानीय तहले ‘क्वारेन्टिन’ निर्माणमा तीन लाखदेखि ७० लाख रुपैयाँ खर्च गरिसकेका छन् ।
मकवानपुरका १० स्थानीय तहमध्ये नौवटाले क्वारेन्टिन बनाएका छन् । उनीहरुको खर्च एक करोड ५० लाखभन्दा उकालो लागेको छ ।
यतिका खर्च भएका क्वारेन्टिनको हविगत र व्यवस्थापन हेर्दा भने खर्च केवल बालुवामा पानी हालेसरह देखिन्छ ।
वाग्मती प्रदेशमा हालसम्म ३२७ जनमा कोरोना संक्रमण देखिएको छ । जसमा ९१ जना निको भइ ‘डिस्चार्ज’ भइसकेका छन् ।
यस प्रदेशमा देशका कुल संक्रमणको करिब तीन प्रतिशत संक्रमण रहेको सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश कोभिड–१९ का प्रवक्ता डा. पुÞरुषोत्तमराज सेढाईंले बताउनुभयो ।
संक्रमित बढिरहेको अहिलेको अवस्थामा हाल क्वारेन्टिन र ‘आइसोलेसन बेड’ पर्याप्त नभएकाले आवश्यकताअनुसार थप गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले मन्त्रालयको उद्देश्य प्रदेशमा संक्रमण बढ्न नदिनेतर्फ मन्त्रालयको रणनीति रहेको पनि बताउनुभयो ।
त्यसो त यतिका धेरै खर्च गरिएका क्वारेन्टिन भने त्यति गुणस्तरीय छैनन् । क्वारेन्टिनमा बस्नेहरुलाई जथाभावी राखिदा संक्रमण बढ्ने खतरा छ भने खानाको गुणस्तरीयता नहुँदा झनै समस्या देखिन्छ ।
प्रदेश सरकारले भनेजस्तो क्वारेन्टिनमा पर्याप्त सुविधा छैन ।
नेपालभित्रबाट आएका र विदेशबाट आएकालाई एकै ठाउँमा राख्दा क्वारेन्टिनमा बस्नेलाई कोरोना सर्ने डर पनि त्यत्तिकै छ ।
वाग्मती प्रदेशमा ११ हजार २३५ वटा क्वारेन्टिनको व्यवस्थापन गरिएको छ । जसमा दुई हजार ११५ जना क्वारेन्टिनमै छन् भने १० हजारभन्दा बढी ‘होम’ क्वारेन्टिनमा बस्दै आएका छन् ।
प्रदेशमा रहेका एक हजार २४२ वटा आइसोलेसन बेडमा २७० जना बस्दै आएका छन् ।
प्रदेशमा गरिएको ‘पीसीआर’ परीक्षणमा २६८ जनामा कोरोना पुष्टि भएको छ भने चारजनाको मृत्यु भएको छ ।
त्यसो त वर्षाको समयमा शौचालयमा छाना नहुँदा कोरोना संक्रमित समस्यामा परेका छन् ।
विद्यालयभित्र पानी जम्न थालेपछि खाना खुवाउन, चेकजाँच गर्न तथा सोधपुछ गर्नसमेत समस्या भएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यस प्रदेशमा क्वारेन्टिन सञ्चालन र आर्थिक व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ ।
यस प्रदेशले यसरी खर्चिएको रकमलाई पारदर्शी गर्नु र बस्नयोग्य क्वारेन्टिनमा ध्यान दिनुपर्ने देखिन्छ । नत्र क्वारेन्टिनमा जथाभावी गरिएको खर्च बालुवामा पानी हालेसरह हुने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्