सरकारी प्रयोगशालाहरुमा कम परीक्षण, हजारौं स्वाब ‘होल्ड’ • Image Khabar Image Khabar


सरकारी प्रयोगशालाहरुमा कम परीक्षण, हजारौं स्वाब ‘होल्ड’


Imagekhabar
१२ असार २०७७, शुक्रबार १९:१६

सरकारी प्रयोगशालाहरुमा कम परीक्षण, हजारौं स्वाब ‘होल्ड’

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार १२ । देशभर २३ स्थानबाट ‘पीसीआर’ परीक्षण हुन थालेपनि हाल झन्डै २० देखि २५ हजार स्वाब ‘होल्ड’ छन् ।

सरकारी प्रयोगशालाहरुले नै उल्लेख्य मात्रामा स्वाब परीक्षण नगर्दा होल्ड हुने समस्या बढेको हो ।

काठमाडौंका वीर, त्रिवि शिक्षण र पाटन अस्पतालले नै उल्लेख्य परीक्षण गराउन सकेका छैनन् ।

२३ वटा सरकारी प्रयोगशालामध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र सबैभन्दा धेरै परीक्षण हुने गरेको छ ।

टेकुमा दिनहुँ एक हजारमाथि स्वाब परीक्षण हुँदा अन्य प्रयोगशालाहरुमा १०० स्वाब पनि परीक्षण हुँदैन् ।

काठमाडौंका वीर, पाटन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण अस्पताल सप्तरी, धुलिखेल अस्पतालले १०० तल परीक्षण गर्ने गरेका छन् ।

काठमाडौंका प्रमुख तीन अस्पतालमध्ये त्रिवि शिक्षण अस्पतालमा दिनहुँ झन्डै २०० माथि परीक्षण हुने गरेको छ । तीमध्ये अधिकांश पैसा तिरेरमात्र परीक्षण गर्नेहरु छन् भने केही सरकारी अस्पतालहरुबाट पठाइने स्वाबहरु छन् ।

वीरले हालसम्म १०० माथि परीक्षण गर्न सकेको छैन भने पाटनले केही दिन १०० माथि स्वाब परीक्षण गरेको थियो ।

वीर अस्पतालका फिवर क्लिनिक युनिटका प्रवक्ता डा. अच्युत कार्की एउटामात्र पीसीआर मेसिन भएकाले आफ्नो क्षमताले सक्ने परीक्षण गरेको दाबी गर्नुहुन्छ ।

सरकारले कोरोनाभाइरसको संक्रमण देखिएसँगै सरकारी अस्पतालहरुमा फिवर क्लिनिक सुरु गराएको थियो । हाल उक्त क्लिनिकमा लक्षण नदेखिएपनि स्वास्थ्य परीक्षण गराउन चाहनेहरुका कारण भिड बढ्ने गरेको छ ।

संक्रमितको सम्पर्कमा नआएका र लक्षण नदेखिएका व्यक्तिहरुले भने पैसा तिरेर परीक्षण गराउने गरेका छन् ।

फिवर क्लिनिकमा काम गर्ने चिकित्सक र नर्सहरुले संक्रमितसँगको सम्पर्कमा नआएका धेरै व्यक्तिहरु परीक्षणका लागि आउने गरेको जनाएका छन् ।

जोखिममा बाबजुद् पनि काम गरिएको भन्दै उनीहरुले परीक्षण नपाएर कसैलाई पनि नफर्काएको दाबी गरेका छन् ।

दैनिक संक्रमितको संख्या ५०० हाराहारी देखिन थालेकाले पीसीआर परीक्षणको दायरा बढाउनुको विकल्प छैन । तर, सरकारी प्रयोगशालाहरुले नै सरकारलाई सहयोग नगर्दा समस्या बढेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्