
एजेन्सी, असार १२ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी १६ वर्षसम्म पदमै रहिरहन बाटो खोल्नु भएको छ । अहिलेको संवैधानिक व्यवस्थामा सन् २०२४ मा पदावधि सकिने भएपछि नयाँ जनमतमार्फत् उहाँले अरु १२ वर्ष कार्यकाल लम्ब्याउन सक्ने व्यवस्था मिलाउनुभएको हो ।
एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक गरिएको नतिजा अनुसार राष्ट्रपति पुटिनले चाहँदा आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनु हुनेछ । पुटिनलाई लामो समयसम्म शक्तिमा टिकाईराख्न बनाइएको नयाँ संवैधानिक व्यवस्थाका पक्षमा ठूलो मत परेको हो ।
आफ्नो कार्यकाल लम्ब्याउन मिल्ने संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याउनुभए पनि मतदान भने हालै मात्र गराइएको हो ।
अप्रिल २२ का लागि तय गरिएको मतदानको मिति कोरोना भाइरसको संक्रमणका कारण जुन १ का लागि सारिए पनि हुन सकेको थिएन । तर अहिले भने मतदानसमेत सकाएर नतिजा सार्वजनिक गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार अब राष्ट्रपति पुटिन थप दुई कार्यकाल शक्तिमै रहन सक्नुहुनेछ । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उहाँले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलाइएको हो ।
दुई दशकदेखि एकछत्र शासन गरिरहनु भएका ६७ वर्षीय पुटिन क्राइमियालाई रुसमा गाभेपछि झन् लोकप्रियता कमाउनु भएको छ । आफ्ना विरोधीहरुको आवाज निर्ममतापूर्वक दबाउने गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ ।
रुसी सत्ता भ्रष्टाचारमा लिप्त रहेको भन्दै आवाज उठाइरहनु भएका विपक्षी नेता नभाल्नीसहितलाई उहाँले पटक पटक जेलमा कोच्नु भएको छ । आफूलाई चुनौति दिने व्यक्तिलाई चुनावी मैदानमा उत्रनै नदिन पुटिनले अनेकन हत्कण्डा अपनाउने गरेको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्