
काठमाडौं । झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् र ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान जोगाउन नसकेको पीडा खेपिरहेका उनी बिहीबार बिहान भने अर्को पीडामा थिए, अन्न ग्रहण कसरी गर्ने ?
धनुषाको हंसपुर नगरपालिका ७ पर्साहीका राजुको ९ असार बिहान ४ बजे प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा मृत्यु भएको थियो ।
नगरपालिकाले टिपरमा राखेर शव घरमा ल्याएपछि अन्तिम संस्कार गरिएको थियो । त्यसयता भोकै बसिरहेका अशेश्वरले तेस्रो दिन बिहान अन्न ग्रहण गर्नुपर्ने थियो ।
बिहीबार बिहान राजुको घरको दृश्य पनि भावविह्वल थियो । छोराको मृत्युले विक्षिप्त बनेकी निलमका आँखा ओभाएका थिएनन् । सात फिट लामो र पाँच फिट चौडा त्रिपालले बेरिएर बनाएको झुपडीमा पल्टिरहेकी थिइन् ।
असारे सिमसिम वर्षा छेक्न त्यही झुपडीभित्र तीन छोरीसहित अशेश्वर पनि ओत लिएर बसिरहेका थिए । घरपरिवारको दैनिक जोहोमा सघाउने छोरा गुमाएको पीडा अशेश्वरको अनुहारमा पनि प्रस्टै झल्किरहेको थियो ।
‘२५ हजार ऋण निकालेको थिएँ, १०/१२ दिनदेखि राजु बचाउन सकिन्छ भनेर यताउता गर्दागर्दै सकियो । काम गर्न नपाउँदा घरमा चामल किन्ने पैसा पनि भएन’, अशेशवरले भने ।
अन्न ग्रहण गर्ने बेला घरमा चामल नहुँदा र किन्न पैसा पनि नहुुँदा उनलाई झन पीडा भइरहेको थियो । गाउँलेले चामल दिएपछि अन्न ग्रहण गरे उनले भने । नयाँ पत्रिका दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्