१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुदूरपश्चिममा थप ११८ जनामा कोरोना पुष्टि


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार ११ । सुदूरपश्चिम प्रदेशमा थप ११८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरी बिहीबार ११८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार सबैभन्दा बढी कञ्चनपुरका ६० जना, बझाङका १८, अछामका १३, डडेल्धुराका १२, बाजुराका आठजना, कैलाली र बैतडीका तीन/तीनजना र दार्चुलाका एकजनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा कञ्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, अछामका चार महिला र नौ पुरुष गरी १३ जना, बैतडीका एक पुरुष, बझाङका तीन महिला र १३ पुरुष गरी १६ जना, बाजुराका दुई महिला र दुई पुरुष गरी चारजना, डडेल्धुराका एक महिला र ११ पुरुष गरी १२ जना र कैलालीका दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा बझाङका दुईजना, बैतडी, दार्चुला र कैलालीका एक/एकजनामा कोरोना पुष्टि भएको उनले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका एक/एकजना पुरुषमा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६६७ पुगेको छ ।

कोरोना पुष्टि भएकामध्ये पाँचजनाको मृत्यु भइसकेको छ । १७६ जना निको भएर घर फर्किइसकेका छन् ।

यसैबीच, धनगढीस्थित प्रयोगशालामा भने पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घन्टामा १८३ जनाको कोरोना परीक्षण भएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको बताए ।