३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


दात्रृ निकायको सहयोग पारदर्शी सूची सार्वजनिक, एमसीसीसहितका ११ संस्था शीर्ष सूचीमा


0
Shares

काठमाडौं, असार ११ । संसारभर सहयोग गरिरहेका दात्रृ निकायहरुको पारदर्शीतासम्बन्धि विश्व प्रतिवेदन, ‘एड ट्रान्सपरेन्सी इन्डेक्स २०२०’ सार्वजनिक गरिएको छ ।

अमेरिकादेखि चीनसम्मका दात्रृ निकायको पारदर्शीता अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा हाल नेपालमा सर्वाधिक चर्चामा रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) सहितका ४७ दात्रृ संस्था समेटिएका छन् ।

एमसीसी पारदर्शीताको दृष्टिमा शीर्ष सातमा परेको छ । सन् २०१८ मा पनि सातौं नम्बरमै रहेको यस संस्थाले व्यवस्थापनलगायत पक्षमा भने आफ्नो अंकमा सुधार गरेको छ । यसले १०० मा ९२ दशमलव १ अंक पाएको छ ।

पब्लिस ह्वाट यू फण्ड नामक अनुसन्धान संस्थाले सहयोग पारदर्शीताका लागि विश्व अभियान (दि ग्लोबल क्याम्पेन फर एड ट्रान्सपरेन्सी) नाम दिएर सार्वजनिक गरेको प्रतिवेदनको पहिलो स्थानमा भने ९८ अंकका साथ एशियाली विकास बैंक (एडीबी) रहेको छ ।

यसैगरी असाध्य राम्रो नतिजाका साथ शीर्ष ११ मा रहने संस्थाहरुमा दोस्रो स्थानमा विश्व बैंक, तेस्रोमा यूएनडीपी, चौथोमा अफ्रिकन डेभलपमेन्ट बैंक, पाँचौंमा इन्टर अमेरिकन डेभलपमेन्ट बैंक, छैठौंमा यूनिसेफ, सातौंमा एमसीसी, आठौंमा ग्लोबल फण्ड, नवौंमा डीएफआईडी–बेलायत, दशौंमा क्यानडा ग्लोबल अफेयर्स र एघारौंमा ग्याभी, दि भ्याक्सिन एलायन्स रहेका छन् ।

१५ वटा संस्था राम्रो सूचीमा परेका छन् । १६ संस्थाको कार्यकुशलता ठीकै देखिएको छ । एउटाको अवस्था खराब छ भने बाँकी चार वटा असाध्य खराब स्थितिमा छन् । असाध्य खराब कार्यकुशलता रहेका दात्रृ निकायहरुमा जापान, चीन, यूएई, टर्कीका सरकार नियन्त्रित मन्त्रालयहरुबाट सञ्चालित परियोजनाहरु छन् । खराब सूचीमा अमेरिकी रक्षा मन्त्रालयको परियोजना पनि परेको छ ।

अनुसन्धान संस्थाले पाँच वटा विषयलाई आधार मानेर पारदर्शीतासम्बन्धि अध्ययन गरेको जनाएको छ । लेखा र बजेट, संगठनात्मक योजना र प्रतिवद्धता, परियोजनागत विशेषता, कार्यकुशलता र ज्वाइनिङ डेभलपमेन्ट डाटा (फाइनान्स एण्ड बजेट, अर्गनाइजेस्नल प्लानिङ एण्ड कमिट्मेन्ट, प्रोजेक्ट एट्रिब्यूसन, परफरमेन्स, ज्वाइनिङ डेभेलपमेन्ट डाटा) लाई आधार मानेर त्यसैअनुसार अंक प्रदान गरेको थियो ।