२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


१४ बुँदे माग पूरा नभए आन्दोलन गर्ने साना होटल व्यवसायी महासंघको चेतावनी


0
Shares

काठमाठौं, असार ११ । साना होटल व्यवसायीहरुले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कोरोनाका कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उहाँले विषम परिस्थितिमा सरकारले ठूला तारेहोटल र साना होटलहरुबीच विभेद गरेको आरोपसमेत लगाउनुभयो ।

साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म ‘क्वारेन्टिन’मा राख्न बिनाशुल्क होटल दिन तयार रहँदासमेत तारेहोटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उहाँले बताउनुभयो ।

होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिनसमेत माग गरेका छन् ।

यस्तै, ‘लकडाउन’ खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एक वर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन् ।