Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


पूर्वराजा ज्ञानेन्द्रको प्रश्नैप्रश्नको वक्तव्यः मुलुकको स्वाधीनता संरक्षण र एकीकरणमा राजसंस्थाको सान्दर्भिकता स्वीकार्न आग्रह !


0
Shares

Gyanendra shah Dashain wishes

काठमाडौं, असार १० । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेमा सत्ता सञ्चालकहरुलाई सचेत गराउनुभएको छ । नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन राजसंस्थाबाट मात्र सम्भव हुने सन्देशसमेत उहाँले दिन खोज्नु भएको छ ।

आफ्नो जन्मदिनको सन्दर्भमा एक वक्तव्य जारी गर्दै पूर्व राजा शाहले परस्पर आरोप प्रत्यारोप गरेर या निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताउनुभएको हो ।

घुमाउरो रुपमा राजसंस्थाको सान्दर्भिकता र औचित्य पुष्टि गर्ने प्रयास गर्दै पूर्वराजा शाहले वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रियतालाई मूल मन्त्र र एकतालाई शक्ति मानेर अघि बढ्नुपर्ने भन्दै पूर्वराजाले मुलुकको स्वाधीनता संरक्षण र एकीकरणको सन्दर्भमा राजसंस्थाको सान्दर्भिकतालाई स्वीकार्न घुमाउरो रुपमा आग्रह गर्नुभएको देखिन्छ ।

नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो त्यसको चिन्तन गर्दै राष्ट्रियता र एकता बढाउनु समग्र राष्ट्रहितमा रहेको पूर्वराजा शाहको भनाइ छ । सीमाविवाद, भ्रष्टाचार विभिन्न सन्धिसम्झौता हत्या हिंसा र आत्महत्याजस्ता विषयको समाधान र कारण खोज्न पनि उहाँले भन्नुभएको छ ।

‘हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छन् ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितबिरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुःखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन् ?’ शाहले प्रश्न गर्नुभएको छ, ‘भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनहुँ उठिरहन्छन् ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छन् ?’

कामका लागि विदेशिनु परेका नेपालीप्रति सहानुभूति देखाउँदै पूर्वराजाले विविध बाध्यताका कारण विदेशिएका कतिपय नागरिक स्वदेश फर्किएको भन्दै फर्कने सबैको श्रम, सीप र सामथ्र्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम उद्यम र कामधन्दाको व्यवस्था मिलाइनु नितान्त जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमाउने घोषणा गर्दै उहाँले आफ्नो भावनाप्रति श्रद्धा र शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धैर्य, दृढता र साहसका साथ अघि बढ्न आग्रह पनि गर्नुभएको छ ।