१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विराटनगरमा भण्डारण गरिएको दूध खेर जाने अवस्थामा, किसानले करोडौं रुपैयाँ भुक्तानी पाएनन्


0
Shares

गोपाल पोखरेल/ इमेज
विराटनगर । लकडाउनका कारण विराटनगर दुग्ध वितरण आयोजनाले भण्डारण गरेको दूध त्यसै खेर जाने भएको छ ।

एकातिर किसानलाई रकम भुक्तानी गर्न सकेको छैन भने दूध खपत हुन नसक्दा दोहोरो मार परेको छ ।

आयोजनाले लकडाउनमा किसानसँग खरिद गरेको दूध र दुधजन्य पदार्थ बिक्री गर्न नसक्दा आयोजनाले किसानलाई भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न सकेको छैन् ।

आयोजनाको गोदाममा ९८ करोड ६६ लाख मूल्य बराबरको दुधजन्य पदार्थ लामो समयदेखि भण्डारण गरिएको छ ।

बजार अभावका कारण उत्पादित वस्तु बिक्री गर्न नपाएका कारण कच्चा दुध खरिद गरेको रकम भुक्तानी गर्न नसकिएको आयोजना प्रमुख गणेश यादवले बताउनुभयो ।

प्रदेश १ को इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापा र मोरङका ११ हजार किसानको झण्डै १५ करोड रुपैया रकम गत चैतयता आयोजनाले भुक्तानि गर्न नसकेको हो ।

आयोजनाको गोदाममा ८ लाख किलोग्राम धूलो दुध, सात लाख किलो मखन, २० हजार किलोग्राम घ्यू थन्किएको छ ।

आयोजना प्रमुख यादवले १ करोड ६६ लाख मूल्य बराबरको घ्यू, ४८ करोड मूल्य बराबरको धुलो दुध, ४९ करोड मूल्य बराबरको मखन बिक्री गर्न नसक्दा किसानलाई भुक्तानि दिन नसकिएको बताउनुभयो ।

लकडाउन सुरु भएयता दुधको खपत घटेपनि आयोजनाले मिल्क होलिडे नगर्नका लागि किसानसँग दुध खरिद गरेर दुधजन्य वस्तु उत्पादन गरेको थियो ।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको लकडाउनमा होटल खुल्न नसक्दा उत्पादन भएको सामाग्री बिक्री नै नभएको हो ।

दैनिक ३० हजार लिटर दुध खरिद गरेर ७ हजार लिटर मात्रै खपत गरिरहेको आयोजनालाई अहिले उत्पादित दुधजन्य पदार्थ बिक्री नहुँदा समस्या मात्र परेको छैन आयोजना नै बन्द हुने स्थितिमा पुग्दा दोहोरो मारमा परेको छ ।

भिडियो हेर्नुहोस् ।