
काठमाडौं, जेठ ९ । नर्सिङ क्षेत्र सुधारको माग राख्दै १४ दिनदेखि अनशनरत् नर्स जिता बराललको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।
सामाखुसीस्थित बीपी स्मृति अस्पतालमा भर्ना गरिएकी बराललको छातीमा समस्या देखिन थालेको उनको उपचारमा संलग्न चिकित्सक डा. निरज बमले जानकारी दिए ।
डा. बमकाअनुसार बेला–बेलामा रिंगटा लाग्ने, थकान बढेको र रगतमा सोडियम तथा पोटासियमको मात्रा कम पनि कम हुँदै गएको छ ।
नर्सिङ ऐन बन्नुपर्ने, नर्सिङ पेसालाई मर्यादित बनाउनुपर्नेलगायतका माग राखेर आफू अनशनमा बसेको बरालले बताएकी छन् ।
क्याम्पस प्रमुखबाट राजीनामा दिएर अनशन
पोखराको फिस्टेल नर्सिङ क्याम्पस प्रमुखबाट राजीनामा दिएर अनशन बसेकी बराल दुई दशकदेखि नर्सिङ क्षेत्रमा छिन् ।
अनशनरत् बराललाई समर्थन गर्दै बिहीबारदेखि अरु नर्सहरुले रिले अनशन पनि सुरु गरेका छन् ।
नेपाल नर्सिङ संघमा रिले अनशन बसेका नर्सहरुले बराल अनशन बसेको १४ दिनसम्म पनि सरकारले बेवास्ता गरेपछि आफूहरु रिले अनशनमा बस्न बाध्य भएको बताएका छन् ।
नर्सहरुले शुक्रबार स्वास्थ्य मन्त्रालयमै रिले अनशन बस्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्