Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मिडिया विधेयकमा सम्पादकहरुको आपत्तिः फिर्ता लिन माग


0
Shares

काठमाडौं, जेठ ९ । विभिन्न सञ्चार माध्यममा आवद्ध सम्पादकहरुले मिडिया काउन्सिल विधेयक संविधानको मर्म विपरीत भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।

२१ जना सम्पादहरुले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै संसदमा पेश भएको पत्रकारितासम्बन्धी विधेयकहरु लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म विपरीत भएको बताएका हुन् ।

‘संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता यो विधेयकले संकुचित गर्छ भन्ने हाम्रो निष्कर्ष छ’, साझा वक्तव्यमा भनिएको छ ।

सरोकारवालाहरुसँग परामर्श नै नगरी ल्याइएको मिडिया काउन्सिल विधेयक फिर्ता लिएर आफूहरुसँग  छलफल गर्न सम्पादकहरुले सरकारसँग माग पनि गरेका छन् ।

‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं ।’ उनीहरुले भनेका छन् ।

पत्रकारिताका नाममा देखिएका विकृति र असंयमित प्रस्तुतिका कारण पत्रकारिताप्रति प्रश्न उठेको स्वीकार्दै सम्पादकहरुले पत्रकारिता स्वनियमनमा चल्ने प्रष्ट पारेका छन् ।

यसलाई व्यवस्थित बनाउन आफूहरु तयार रहेको भन्दै उनीहरुले पत्रकारितालाई नियमन गर्ने बाहनामा गरिने नियन्त्रण स्वीकार्य नहुने बताए ।

संयुक्त विज्ञप्ति जारी गर्ने सम्पादकहरुमा युवराज घिमिरे, कुन्द दीक्षित, राजेन्द्र दाहाल, नारायण वाग्ले, प्रतीक प्रधान, अखिलेश उपाध्याय, अमित ढकाल, शिव गाउँले, सुधीर शर्मा, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, किरण नेपाल, प्रकाश रिमाल, सुवास घिमिरे र हरिबहादुर थापा, प्रशान्त अर्याल, अनुप काफ्ले, अरुण बराल, कसमस विश्वकर्मा, दिलभुषण पाठक, पूर्ण बस्नेत छन् ।