बुधबार नेकपा स्थायी कमिटीको बैठक बस्दै • Image Khabar Image Khabar


बुधबार नेकपा स्थायी कमिटीको बैठक बस्दै


Imagekhabar
९ असार २०७७, मंगलवार १४:५९

बुधबार नेकपा स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, असार ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को स्थायी कमिटी बैठक भोली (बुधबार) बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा ११ बजेको लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिनुभएको छ ।

बुधबारको स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाएपनि एजेन्डाबारे आधिकारिक टुङ्गो नलागेको स्थायी समिति सदस्य भुषालले जानकारी गराउनुभयो ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ ।

यता, बैठकको तयारीका लागि भने आज बिहानैदेखि विभिन्न तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

बैठकबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छुट्टै भेट गर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग समेट भेटवार्ता गरेको जनाइएको छ ।

सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधान अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएपनि वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्