
-प्रकाश मैनाली/ईमेज
सर्लाही । पछिल्लो समय सर्लाहीमा लागूऔषधको तस्करी अस्वाभाविक रुपमा बढेको देखिएको छ ।
प्रतिबन्धित लागूपदार्थ खुला नाका हुँदै भित्रिने क्रम बढेपछि प्रहरीले पनि चेकजाँचमा कडाइ गर्न थालेको छ ।
मानव स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने किसिमका लागूपदार्थलाई ओसारपसारमा प्रतिबन्ध लगाइए पनि सर्लाहीमा यसको कारोबार बढेको छ ।
सर्लाही प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा लागूऔषध ओसारपसारमा संलग्न ११३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
जसमा १०७ जना नेपाली र ६ जना संलग्न रहेका छन् । गत साउनदेखि हालसम्म ठूलो परिणाममा लागूपदार्थ वरामद भएको छ ।
जसमध्ये सबैभन्दा बढी गाँजा रहेको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार यो आर्थिक वर्षमा हालसम्म ५९७ किलो गाँजा बरामद भएको छ ।
गाँजाबाहेक अन्य लागूऔषध भने भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद गरिएको उपरीक्षक भट्टराईको भनाइ छ ।
ट्यावलेट र तरल लागूऔषध सीमापारीबाट भित्रिने गरेको छ ।
लागूऔषध ओसारपसारप्रति पछिल्लो समय प्रहरीले पनि कडाइका साथ निगरानी गरिरहेकाले यसमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको प्रहरीको दाबी छ ।
उता, नागरिक अगुवाहरु भने दुव्र्यसनीमा लागेका युवाहरु अझै पनि प्रहरीको आँखा छलेर भारतीय बजारबाट लागूपदार्थको कारोबार गरिरहेको बताउँछन् ।
यस्ता अवाञ्छित र प्रतिबन्धित कार्यमा निरुत्साहित गर्न कानुनको दण्ड दिनु त छँदैछ अर्कोतिर यस्ता क्रियाकलापलाई न्यूनीकरण गर्न सानैदेखि परिवार, विद्यालय र समाजबाटै उचित संस्कार र शिक्षा दिन पनि उत्तिकै आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्