१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


लद्दाख भिडन्तमा दुई सैन्य अधिकारी मारिएको चीनले स्वीकारेको भारतीय मिडियाको दाबी


0
Shares

एजेन्सी, असार ९ । चीन–भारत सीमा नजिक गलवान उपत्यकामा जुन १५ मा दुई देशका सैनिकबीच भएको भिडन्तमा आफ्नातर्फ पनि सैन्य अधिकारी मारिएको चीनले स्वीकारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२० भारतीय सैनिक मारिएको उक्त भिडन्तमा चीनको भने दुई सैन्य अधिकारी मारिएका हुन् । मारिनेमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको चीनले स्वीकारेको जनाइएको छ ।

चिनियाँ समाचार स्रोतलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले चिनियाँ पक्षले हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिए पनि हालै मात्र समाचार सार्वजनिक गरिएको उल्लेख गरेको हो । यद्यपि, अहिलेसम्म चिनियाँ विदेश मन्त्रालयले उक्त घटनामा भएको हताहतीबारे कुने जानकारी दिएको छैन ।

यसैबीच, लद्दाख भिडन्तपछि तनावपूर्ण भएको सम्बन्ध सामान्यीकरणका लागि दुई देशले कूटनीतिक र सैन्य तहमा संवाद चलाएका छन् । सोमबार भारत र चीनका उच्च सैनिक अधिकारीबिच वार्ता भएको इन्डियन एक्सप्रेसले जनाएको हो । भारतीय सैनिकका लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र उनका चिनियाँ समकक्षीबीच सोमबार लगातार १० घण्टा वार्ता भएको जनाइएको छ ।

गलवान उपत्यकाको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तमा २० भारतीय सैनिक मारिनुमा भारतीय सैनिक जिम्मेवार रहेको चीनको दाबी छ । भारतले चीनमाथि दोष लगाइरहेको छ ।