१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


ट्रम्पले फेरि गरे विदेशी कामदारका केही भिसा ‘फ्रिज’


0
Shares

एजेन्सी, असार ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निशानामा फेरि विदेशी कामदार परेका छन् । कोरोना महामारीको कारण देखाउँदै ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेर निशाना साँधेका हुन् ।

ट्रम्पको यो निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आया र उच्च तहमा रहेर काम गर्ने कार्यकारीहरु प्रभावित हुने खबरहरुमा जनाइएको छ ।

कोरोनाका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीलाई रोजगार प्रदान गर्न यस्तो निर्णय लिइएको तर्क राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गरेपनि आलोचकहरुले भने ट्रम्प प्रशासनले महामारीको बहाना बनाएर आप्रवासन कानूनको उल्लंघन गरेको भन्दै आलोचना गरेका छन् ।

यो नियमबाट अमेरिकामा काम गर्ने पाँच लाख २५ हजार विदेशी प्रभावित हुने जनाइएको छ । यसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्ड पाउने तयारीमा रहेका झण्डै एक लाख ७० हजार विदेशी कामदार पनि छन् ।

ट्रम्प प्रशासनले गत अप्रिलमा पहिलोपटक केही भिसा तथा ग्रिन कार्डको काम रोक्न गरेको निर्णयको समय सोमबार सकिएलगत्तै यो नियमलाई यो वर्षको अन्त्यसम्मै लगाइएको हो ।

यसबाट मौसमी कामदारहरुलाई प्रदान गरिने एच–टूबी भिसा, विद्यार्थी तथा आयाहरुलाई दिइने जे– वान सर्ट टर्म एक्सचेन्ज भिजा पनि प्रभावित भएको छ । बहुराष्ट्रिय कम्पनीहरुमा उच्च तहमा काम गर्नेहरुलाई प्रदान गरिने एल भिसा पनि तत्कालका लागि बन्द गरिएको जनाइएको छ ।