२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


शैक्षिक संस्था नखुलेको अवधिको कुनैपनि शुल्क नतिर्न अभिभावकलाई आह्वान


26
Shares

काठमाडौं, असार ८ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘प्याब्सन’ र ‘नेसनल प्याब्सन’ नेपालले जारी गरेको अपिलप्रति गम्भीर आपत्ति जनाएको छ ।

विगत तीन महिनादेखि विद्यार्थीहरु ‘लकडाउन’का कारणले घरमै सीमित भएर बसेको अवस्थामा विद्यालयहरुले यो समयको शुल्क चुक्ता गर्न अभिभावकलाई गरेको अपिल ‘हास्यास्पद’ रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था नखुलुन्जेलको अवधिभरको कुनैपनि प्रकारको शुल्क नतिर्न सम्पूर्ण अभिभावकलाई आह्वान गरेका छन् ।

यसअघि, शिक्षा मन्त्रालयले गएको वैशाख २२ गते अर्को निर्णय नभएसम्मका लागि कुनैपनि विद्यालयले कुनैपनि तह वा कक्षामा नयाँ भर्ना नगर्नू/नगराउनू र भर्नाका नाममा वा अनलाइन पठन–पाठनका नाममा कुनै शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्नू भनेर स्पष्ट निर्देशन गरेको थियो ।

‘सरकारको निर्णय लत्याउँदै प्याब्सन र एन–प्याब्सनले कसरी यस्तो अपिल गर्नसके ?’ भन्दै नेविसंघले सरकारकोसमेत ध्यानाकर्षण गरेको छ ।

नेविसंघले तत्काल निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक यो समस्या समाधान गर्न तदारुकता देखाओस् भन्दै खबरदारी गरेको छ ।

शिक्षामन्त्रीलाई शुल्कमा छुट दिन पटक-पटक गरिएको आग्रह लाइ पुनः स्मरण गराउॅंदै साना साना बालबालिकालाई अनलाइमा जोड्ने र त्यसैको नाममा शुल्क उठाउनु बाञ्छनीय नभएको महामन्त्री बल्देव तिमल्सिनाको तर्क छ ।

बिहान बेलुककीको छाक कसरी टार्ने भन्ने बेलामा विद्यालयले झन् तनाव थप्नु मानवीय हिसाबले पनि उपयुक्त छैन, तिमल्सिनाले भने ।