
काठमाडौं, असार ८ । काठमाडौं जिल्ला अदालतमा अबदेखि कोरोना परीक्षण नगरिएका अभियुक्तको अदालती कारबाही नहुने भएको छ ।
सोमबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युतीय अपराधका एक आरोपीलाई ‘पीसीआर’ परीक्षण गराएरमात्र अदालतमा पेस गर्न आदेश दिएको हो ।
हाल ‘आरडीटी’ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएका आरोपीको हकमा अदालती प्रक्रिया अघि बढाइएकोमा अब पीसीआर परीक्षण नेगेटिभ आएकाहरुको हकमा मात्रै अदालती प्रक्रिया अघि बढाइने नियम लागू गरिएको हो ।
अदालतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनले पीसीआर विधिकै परीक्षणलाई मान्यता दिएकाले पीसीआर विधिकै परीक्षण गरेरमात्र अदालतमा पेस गर्न आदेश दिएको हो ।
प्रतिवादीलाई हिरासतबाट अदालतसम्म ल्याउने सुरक्षाकर्मी पनि प्रतिवादीसँग भौतिकरुपमा निकट भइ काम गर्नुपर्ने भएकाले उनीहरूको पनि अनिवार्यरुपमा कोरोना परीक्षण गर्नुपर्ने आदेश जिल्ला अदालतले दिएको छ ।
कोरोना परीक्षण भने सरकारी खर्चमै गर्ने प्रबन्ध मिलाउन पनि आदेश दिइएको छ ।
आदेशसँगै अब प्रहरीलाई हिरासतमा रहेका कुनैपनि अभियुक्त र आरोपीको पीसीआर परीक्षण गराउन दबाब बढेको छ ।
प्रतिक्रिया दिनुहोस्