रौतहटका ‘क्वारेन्टिन’को बिजोग • Image Khabar Image Khabar


रौतहटका ‘क्वारेन्टिन’को बिजोग


Imagekhabar
८ असार २०७७, सोमबार १७:१३

रौतहटका ‘क्वारेन्टिन’को बिजोग

सञ्जय कार्की (इमेज)

रौतहट, असार ८ । रौतहटका जनप्रतिनिधिहरु कोरोना नियन्त्रणमा भन्दापनि विकास निर्माणको काममा लागेको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेका छन् ।

‘क्वारेन्टिन’मा बस्नेहरुको न स्वास्थ्य परीक्षण नै हुन्छ, न त खानपान नै राम्रो छ । रौतहटको क्वारेन्टिनमा बस्नेहरु सबैको हविगत उस्तै छ ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं कोरोना महामारी नियन्त्रणमा लाग्ने समयमा रौतहटका जनप्रतिनिधिहरु भने विकास निर्माणको कामतिर लाग्न थालेका छन् ।

संक्रमितको संख्या बढ्दै गएको अवस्थामा रौतहटमा रहेका क्वारेन्टिनको स्तरोन्नति गर्नुको साटो क्वारेन्टिन झनै जीर्ण बन्दै गएका छन् ।

पोसिलो र सफा खाना नभएको, स्यानिटाइजर र मास्क नदिएको, नुहाउनलाई साबुनसमेत नदिएको गुनासो क्वारेन्टिनमा बस्नेहरुको छ ।

तर, जनप्रतिनिधिहरुले भने उनीहरुको गुनासोलाई एक कानले सुन्ने र अर्को कानले उडाइदिने गरेका छन् । बरु, उनीहरुको ध्यान कोरोनाभाइरस नियन्त्रणमा भन्दापनि असारे बजेटतिर केन्द्रित भएको छ ।

रौतहटका १८ वटै पालिकामध्ये चन्द्रपुर नगरपालिकाले निर्माण गरेको जनज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्नेहरुको बिजोग भएको छ ।

विद्यालयको संरचना राम्रो भएपनि क्वारेन्टिनको जिम्मा लिएकाहरुको गैरजिम्मेवारीपनले उनीहरु उल्टै बिरामी पर्ने अवस्थामा रहेको गुनासो गरेका छन् ।

क्वारेन्टिनमा बस्नेहरुलाई सामाजिक र भौतिक दूरी कायम नगरी कोचाकोच नै गरिएको छ । यसकै कारण पनि संक्रमितको संख्या बढेको अनुमान गरिएको छ ।

क्वारेन्टिनमा बसेकाहरुलाई आवश्यकताअनुसारको स्वास्थ्यमा ध्यान नदिएको चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संयोजक अभय ठाकुरले बताए ।

भारतबाट घर फर्कनेको संख्यामा कमी आएसँगै रौतहटमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको संख्या घटदै गएपनि व्यवस्थापन भने निकै फितलो छ ।

तीन साताअघिमात्रै पनि रौतहटमा भारतबाट आउनेको संख्या अधिक रहेको थियो । तर, अहिले छिटपुटरुपमा मात्रै आइरहेका छन् ।

रोजगारी गरेर भारतबाट आएकाहरुलाई सम्बन्धित पालिकाले आफूले निर्माण गरेको क्वारेन्टिनमा राख्ने गरेका छन् ।

क्वारेन्टिनमा बस्नेको लागिमात्रै उचित व्यवस्थापन गर्नसकेमात्र पनि महामारीको रुपमा फैलँदै गएको कोरोनाभाइरस चाँडै नियन्त्रणमा आउनसक्ने थियो । त्यसैलेपनि सम्बन्धित स्थानीय तहले समयमै ध्यान दिन जरुरी छ ।

नत्र, क्वारेन्टिनको अवस्था यस्तै भद्रागोल र लथालिंग छाड्दििने हो भने रौतहट जिल्लामा कोरोनाको अवस्था भयावह हुनेमा दुईमत छैन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्