२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लेखा समितिमा छलफल–‘स्वास्थ्यविज्ञलाई सामग्री खरिदको जिम्मा किन दिइयो ?’


0
Shares

काठमाडौं, असार ८ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा प्रकरणमा अनियमितताको विषयमा छलफल थालेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहसँग स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छलफल भएको हो ।

समितिका सभापति भरत शाहले प्रारम्भिक अध्ययनमा खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराइ अख्तियारको दुरुपयोग गरेको देखिएको बताए ।

यस्तै, खरिद प्रक्रिया अगाडि बढाएर सम्झौता गरेपछिमात्रै बजेटको माग गरिएको पाइएको उनको भनाइ थियो ।

छलफलकाक्रममा सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनका लागि चैत १२ गते भएका बैठकका शृंखलाले अनियमितताको आशंका जन्माएको बताए ।

नेकपाकै सांसद धर्मशीला चापागाईंले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनको माग गरिन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले ‘स्वास्थ्यविज्ञलाई सामग्री खरिदको जिम्मा किन दिइयो ?’ भनेर प्रश्न गरे ।

नेकपाका सांसद सूर्य पाठकले ‘ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनेक्रममा किन त्यस्तो हतार भयो ?’ भन्ने प्रश्न गरे ।

कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले स्वास्थ्यमन्त्रीका सल्लाहकारको संलग्नता सन्देहपूर्ण देखिएको धारणाा राखे ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि १० अर्ब रुपैयाँ संघीय सरकारले प्रदेश र स्थानीय तहहरूलाई विनियोजन गरेको बताए ।

स्वास्थ्यसचिव लक्ष्मण अर्यालले स्वास्थ्य सामग्री खरिदमा मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीको संलग्नता रहेको समितिलाई बुझाएका कागजातमा स्पस्ट रहेको भन्दै अनियमितताबारे अख्तियारले पनि छानबिन गरिरहेको बताए ।

त्यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले विशेष परिस्थितिमा त्यतिबेला ठेक्का दिइएको बताएका थिए ।