
काठमाडौं, जेठ ८ । जबर्जस्ती करणीको मुद्दामा धादिङ कारागारमा सजाय भोगिरहेका कैदी होटलमा भेटिएको घटनाप्रति कारागार व्यवस्थापन विभागको ध्यानाकर्षण भएको छ ।
अदालतले २०७२ सालमा ११ वर्षको जेल सजाय तोकेका उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, सेर्तुङका प्रेम तामाङ होटलमा महिलासँग भेटिएको समाचारप्रति कारागार व्यवस्था विभागको ध्यानाकर्षण भएको हो ।
कारागारभित्र हुनुपर्ने तामाङ सदरमुकामका होटलमा मोजमस्तीमा रमाइरहेकोे र बाहिरबाट ताल्चा लगाएर सादा पोसाकका प्रहरीहरुले नै पहरा दिइरहेको भिडियो सार्वजनिक भएको थियो ।
यस सम्बन्धमा कारागार व्यवस्थापन विभागका निर्देशक वासुदेव घिमिरेले गहिराइमा पुगेर अनुसन्धान गर्ने र संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने बताए ।
धादिङ कारागारका सम्बन्धमा यसअघि पनि विभिन्न विषयहरु उठेकाले विभागले प्रमुख जिल्ला अधिकारी र धादिङ जिल्ला प्रशासनलाई पत्राचार गरेको पनि घिमिरेले बताए ।
कारागार सुरक्षामा सबैभन्दापहिले सम्बन्धित कारागारका पदाधिकारी जिम्मेवार हुनुपर्ने भन्दै उनले अनियमितताप्रति खबरदारी गर्ने बताए ।
(पढ्नोस्, होटलको कोठामा महिलासँग भेटिए कैदी (भिडियो)
निश्चित क्रियाकलापबाहेक अरु कुनैपनि काम कारागारभित्र गर्न नपाइएपनि धादिङ कारागारभित्र भने जुवातास खेलाउनेसम्मका हर्कत सार्वजनिक भएका छन् ।
कारागारभित्रका पैसावाल कैदीबन्दीले चौकीदार र कारागार सुरक्षाका लागि खटिएका प्रहरीलाई घुस खुवाएर बाहिर मोजमस्ती गर्न जाने, कारागारभित्रै जुवातास खेल्ने र मदिरा सेवन गर्ने गरेका छन् भने पैसा नहुनेहरु चौकीदारको शोषणमा बस्न बाध्य हुने गरेको गुनासो कैदीबन्दीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्