
भोजपुर, जेठ ८ । प्रहरीले हानेको गोली लागेर घाइते भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थ घिमिरेको मृत्यु भएको छ ।
भोजपुरको घोत्रेखानी जंगलमा प्रहरीले हिजो चलाएको गोली लागेर घाइते भएका षडानन्द नगरपालिका–२ कुदाककाउलेका घिमिरेको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका घिमिरेलाई प्रहरीले उपचारका लागि धरान लगेको थियो । तीघ्रामा गोली लागेका घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोत्रेखानी जंगलमा प्रतिबन्धित नेकपाको गतिविधि रहेको सूचनाका आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि उनीमाथि गोली प्रहार गरिएको थियो । उनका साथबाट प्रहरीले एक थान पेस्तोल, पाँच राउन्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार थानलगायतका सामान बरामद गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्