बैंकका गार्डको हत्यामा संलग्न सार्वजनिक • Image Khabar Image Khabar


बैंकका गार्डको हत्यामा संलग्न सार्वजनिक


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०३:०४

बैंकका गार्डको हत्यामा संलग्न सार्वजनिक

उदयपुर, चैत ३ । १३ महिनाअघि उदयपुर जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको सनराइज बैंकको गार्डको हत्यामा संलग्न तीनजना अभियुक्तलाई प्रहरीले मङ्गलबार सार्वजनिक गरेको छ ।

जलजलेस्थित सिमेन्ट उद्योगको परिसरमा रहेको सनराइज बैंकका तत्कालीन गार्ड खेमबहादुर बानियाँको हत्यामा संलग्न रहेका तीनजनालाई अभियुक्तलाई केही दिनअघि नै पक्राउ गरेर अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार सार्वजनिक गरेको हो ।

गार्डको हत्यामा संलग्न अभियुक्तहरु उदयपुरको त्रियुगा नगरपालिका–११ जलजलेका ३९ वर्षीय टीकाप्रसाद आचार्य, त्रिनपा–१० देउरी बस्ने ३४ वर्षीय बब्लु भनिने प्रेम दोर्जे शेर्पा र अर्का सोही स्थान बस्ने ३७ वर्षीय अरबिन्द बोगटी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा पत्रकारसम्मेलन गरेर उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले अभियुक्तहरुलाई सार्वजनिक गरेका हुन् । अभियुक्तहरुले २०७१ मंसिर १९ गते राति सिमेन्ट उद्योेगको परिसरमा रहेको सनराइज बैंकमा रहेको रु एक करोड नगद लुट्ने उद्देश्यले रात्रिको समयमा ड्युटीमा बसिरहेका बैंकका गार्ड बानियाँलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ ।

गार्डको हत्यापछि बैंकको एटिएम सेफ फोर्न प्रयास गरेपनि असफल भएर अभियुक्तहरु सो स्थानबाट फरार रहँदै आएको प्रहरीले बताएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्