होली पर्व आजबाट सुरु, बसन्तपुरमा चीर ठड्याइने • Image Khabar Image Khabar


होली पर्व आजबाट सुरु, बसन्तपुरमा चीर ठड्याइने


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०३:१८

होली पर्व आजबाट सुरु, बसन्तपुरमा चीर ठड्याइने

काठमाडौं, चैत ३ । परम्परागत पर्व होली आजबाट सुरु हुँदैछ । काठमाडौंको हनुमानढोकाको दक्षिणतर्फ बसन्तपुरमा आज तीन तले चीर ठड्याएर मुलुकभर होली पर्व सुरु गरिँदैछ ।

चीर ठड्याउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ७ बजेर ४७ मिनेटको साइत जुराएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ । बसन्त ऋतुको स्वागतसँगै साताव्यापी रुपमा होली खेल्ने चलन छ ।

बसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्