कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा हुँदैनः सभापति देउवा • Image Khabar Image Khabar


कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा हुँदैनः सभापति देउवा


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०७:२६

कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा हुँदैनः सभापति देउवा

काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शुभकामना तथा बधाई दिन राजधानीमा गरेको कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले आफ्नै दलको नेतृत्वले जारी गरेको संविधान कार्यान्वयनमा ल्याउनु आफ्नो पहिलो प्राथमिता भएको बताए ।

उनले मधेसमा भएका असन्तुष्टिलाई लचकताका साथ सम्बोधन गर्न आफू तयार रहेको भन्दै सहमतिबाटै सबै कुरा टुंग्याउने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो काँधमा आएको जिम्मेवारी पार्टीभित्र र बाहिर दुवै ठाउँमा पुरा गर्न आफू सक्षम रहेको भन्दै देउवाले सबैलाई मिलाएर अगाडि बढ्ने पनि बताए ।

उनले नेपाली कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा नहुने पनि बताए । सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै सबैलाई समेटेर बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले मुलुकलाई गतिशील बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको भन्दै मेलमिलापको नीतिबाट अगाडि बढ्नु पर्ने बताए । उनले कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं जिल्ला कार्यसमितिले नेपाली कांग्रेसका नवनिर्वाचित सभापतिसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्