साला काङ्ग्रेस ! • Image Khabar Image Khabar


साला काङ्ग्रेस !


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ०२:२०

साला काङ्ग्रेस !

सुविद गुरागाई – २९ वर्ष निरन्तर काङ्ग्रेस पढेपछि, बुझेपछि, भोगेपछि पनि मलाई किन लागिरहेको छ, मैले यसलाई अझै चिन्न बाँकी छ, बुझ्न बाँकी छ ? नाम अगाडि नेपाली थपेर काङ्ग्रेस, काँग्रेस, कांग्रेस, कङ्ग्रेस जे लेख्दा पनि हुने, भन्दा पनि हुने विचित्रको पार्टी छ यो । पार्टी के छ, भींड छ, बिहीबारे हटियामा भेला भएका तरेली–तरेली मानिसको जमघट जस्तो । आ–आफ्नै काम–स्वार्थसहित भेला भएकाहरूको बाहुल्यता अनौठो लाग्छ । अलि बर्ड साइट एङ्गलले सोच्दा छेउ–टुप्पो नमिलेको समुद्र जस्तो अथाह ।
२०४४ सालमा हिउँदको सुरुवातसँगै तत्कालीन ‘प्रतिबन्धित नेपाली काङ्ग्रेस’का अर्ध–भूमिगत सदस्यहरू सीताराम मेहता र मोहन श्रेष्ठ नेपाल विद्यार्थी सङ्घमा बालकृष्ण खाँडलाई अध्यक्ष बनाउन भोटरहरू सिला खोज्दै हिँडिरहेका रहेछन् । उनीहरू खासगरी तत्कालीन क्रियाशील सदस्य हरि डाँगीका भाइ विनोद डाँगीलाई लक्षित गरेर सुनसरी क्याम्पस आएका थिए । चउरको एक छेऊमा चार–पाँच जना झुरुप्प बसेका थिए । म क्यान्टिनबाट फर्किंदै थिएँ । मलाई बोलाए । नजिकै गएपछि सहपाठी विनोदले भने, ‘तपाईलाई पनि यहाँ कमिटीमा सदस्य राखेका छौं ।’
‘कस्तो कमिटी हो ?’
‘नेवि सङ्घको सुनसरी क्याम्पस इकाई समिति । …अधिवेशन छ, काठमाडौं जानुपर्छ ।’
‘हुन्छ, तपाईहरूले मलाई विश्वास गरेपछि नाइँ किन भन्नु ?’
यसरी गठन भएको थियो, सुनसरी क्याम्पसको पहिलो नेवि सङ्घ कमिटी । अध्यक्ष विनोद डाँगी, सचिव महेन्द्र चौधरी, सदस्यहरू म, राजेन्द्र श्रेष्ठ र अरूहरू । कमिटीमा बस्दै गर्दा त्यतिखेर केही जस्तो लागेको थिएन । दुई सातापछि सुनसरी क्याम्पसमा कमिटी गठन भएको र त्यसमा फलानो–फलानो सदस्य भएको नामसहित गिरिराज आचार्य दाइले पूर्व टाइम्स साप्ताहिकमा समाचार छापिदिनुभएछ । सुनसरी प्रहरीले हाम्रा नाममा ‘रेड फायल’ बनाइहाल्यो । प्रहरी कार्यालयको आडैमा हाम्रो चिया पसल थियो । नारायण नामका एक जना असईले आमालाई, ‘भाइलाई अधिवेशनमा भाग लिन काठमाडौं जान नदिनू, सुटिङ अडर छ,’ भनिदिएछन् । आमा रोएर चौपट ।
त्यतिखेर मलाई लुकी–लुकी काठमाडौं जाने कुराले भन्दा पनि आमाले कोइराला निवासका बारेमा गर्नुभएको माउथ पब्लिसिटीले काम गरेको थियो । सानोमा म बिरामी परिरहने र अस्पताल लगिरहनु पर्ने भएपछि आमा माइत पूर्व–कुसाहा बुग्डरीमा केही वर्ष बस्नुभएको थियो । सोही गाउँका छिमेकी नारायण कोइरालालाई दाइ भन्नुहुन्थ्यो र उहाँकै सम्पर्कले कोइराला निवासमा चामल निफन्नुप¥यो वा बिहे–बटुलोमा केही काम गर्नुप¥यो भने हाम्री आमालगायत केही महिलाहरू विराटनगर लगिन्थे । आमाले कोइराला परिवारका मानिसको भलादमी व्यवहारको बेला–बेलामा चर्चा गर्नुहुन्थ्यो । खासगरी सबैले ‘लठैत’ भनेर घोषणा गरेका गिरिजाप्रसाद कोइरालाका बारेमा भन्नुहुन्थ्यो, ‘खै, हामीलाई त कहिल्यै नराम्रो बोली गर्नुभएन । बरु हामी काम गर्नेहरूले खाएको नखाएको उहाँले नै विचार गर्नुहुन्थ्यो । निकै हँसिलो, फरासिलो मान्छे हुनुहुन्थ्यो ।’
कमिटी गठन गरेको केही दिनपछि गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहहरू इनरुवा–७ स्थित रामबहादुर बस्नेतको घरमा आएका थिए । रामबहादुर दाइको आँगनमा काठको स्थायी मञ्च थियो । वरपर हामी करिब सय जना भेला भएका थियौं । त्यही मञ्चबाट गणेशमान सिंहले जनआन्दोलन सुरु भएको पहिलो घोषणा गरेका थिए । त्यसपछि हामी हरिनगरा गयौं, हरि सापकोटाको आँगनमा । खाना खाएपछि घरअगाडिको चउर जस्तो खुला ठाउँमा खिनौटे गिरिजाप्रसाद कोइरालाले उभिई–उभिई र डम्म गणेशमान सिंहले कुर्सीमा बसी–बसी कोणसभालाई सम्बोधन गरेका थिए । कोणसभामा हामी भेला भएको दृश्य केही प्रहरीहरूले पनि टुलुटुलु हेरेका थिए । केही नगर्ने रहेछन् भन्ने लागेको थियो । तर, हरिनगरापछि चिमडीमा कोणसभा गर्ने भन्दै विराटनगरतिर लागेका गिरिजाप्रसाद र गणेशमानलाई चन्दा–मोहना दोभानमै समातेर काठमाडौं पु¥याइसकेका रहेछन् ।
ती दिनमा धुँवाधार काङ्ग्रेस बनिएको सम्झिन्छु । बिहीबारे हटियामा १० रुपैयाँमा रातो गम्छा किनेको थिएँ । म, गोविन्द बुइँपाली, सीताराम भट्टराई, गणेश भट्टराई, महेश कोइरालालगायत साथीहरूको एउटा समूह थियो, उही एकैखाले गम्छा कहिले टाउकोमा फेटा बाँधेर, कहिले काँधमा भिरेर हिँड्ने । मान्छेहरू चन्द्रशेखरले ती गम्छाहरू बाँडेको हो भन्ने ठान्थे र हाम्रो ‘ग्याङ’ देखेर डराउँथे । पञ्चायतका केटाहरूसँग कुनै पनि बेला भिडन्त हुने सम्भावना हुन्थ्यो । घरमा ढोका छेउमा रड गाडेर सुत्थेँ ।
चुनाव प्रचारमा पनि उस्तै खटियो । हाम्रो ग्याङ मधेसा, चाँदबेला, भासि, इनरुवा क्षेत्रमा डुल्थ्यो । कमान्डर थिए, पार्टीले पढाएका र चुनाव प्रचारकै लागि सुनसरी आएका महेश आचार्य । खाजा हुन्थ्यो, भुजा–चिउरा–प्याज । महेश आचार्य पनि हामीसँग त्यस्तै खान्थे । ल्यान्डरोभरमा ठुल्ठुला चारतारे फह¥याएर, दुईतिर माइक घन्काएर कोणसभा गर्दै हिँड्थ्यौं । मेरो बोली ठुलो भएकाले प्रायः माइक्रोफोनमा मै बोलिरहेको हुन्थें । र, म आफ्नो मन्तव्यको सुरु र अन्त्यमा त्यतिखेरको लोकप्रिय नारा ‘जन्मदेखि मृत्युसम्म रुख हाम्रो साथी, रुखले जिते हामी बाँच्छौ बाँच्छन् छोरा–नाति,’ भन्न छुटाउँदिनथेँ ।
फ्ल्यासब्याकबाट यता आउँदा आज मुलुकको जुन हालत भएको छ, त्यो जगजाहेरै छ । बीचमा रुखले धेरै पटक जित्यो पनि । तर, भएका रुख जति आधिउधि सिद्धिइसके । मुलुकमा छोरा–नाति बसेर काम गर्न पाउने वातावरण छैन । यस्तै पाराले अब कति वर्ष बाँच्लान् त खोइ ?
यत्रो वर्ष मैले पार्टीका लागि गरेको लगानी वास्तवमा पार्टीका लागि गरेको होइन रहेछ । रामबहादुर बस्नेत, राजीव कोइराला, केदार भण्डारी, लक्ष्मी खतिवडाहरूलाई चिन्नु, राजन मेहता, धिरज भट्टराई, सुनोज निरौला, कृष्ण अधिकारीहरूसँग उठबस गर्नुले म जानी नजानी संस्थापन पक्षको भइसकेको रहेंछु । २०७१ सालमा अढाई महिना काठमाडौं बसेर प्रयास गर्दा पनि मैले शिक्षामन्त्री चित्रलेखा यादवलाई भेट्न पाइँन । आसेपासेहरूको घेरा नै छिचोल्न सकिनँ । तर, मेरो आत्मालाई थाहा छ, कहिले नेपाली काङ्ग्रेसको सरकार बन्छ र कोही काङ्ग्रेसी कार्यकर्ता शिक्षामन्त्री हुन्छ भनेर त्यसअघि मैले १० वर्ष पर्खेको थिएँ । जब मेरो काम गर्नुपर्ने बेला आयो, त्यतिबेला स्वयम् मेरा ‘गुरु’ जसले पछि आफूलाई देउवा पक्षको भनेर चिनाए, सभासद् सीताराम मेहता पनि टक्टकिए । राजीव ढुङ्गाना, प्रदीप पौडेल, ध्यानगोविन्द रञ्जितको बोली पनि बिकेन ।
त्यसपछि लाग्यो, थुक्क ! काङ्ग्रेसमा आजसम्म लागेर मैले त्यति पनि शक्ति आर्जन गर्न सकेको रहेनछु । अझै काम गर्न बाँकी रहेछ । सोच्छु, म जस्तो चिनिएको कार्यकर्ताले त ऐन, नियम, कानुनले मिलेको जाबो एउटा काम गराउन सक्तैन रहेछ भने अरू सामान्य कार्यकर्ता र आम नागरिकको के हालत बनाउँदा हुन् यिनले ? ३६ र ७४ को भागबन्डा गर्दै पार्टीभित्र कति गहिरो खाडल बनाएका रहेछन् ?
काङ्ग्रेसी सभासदहरू शेरबहादुर देउवाको नेतृत्वमा ३६ से र गिरिजाप्रसादको पक्षमा ७४ रे भएर आफ्नै पार्टीको बहुमतको सरकारको नीति तथा कार्यक्रम असफल बनाएर दुनियाँमा कहीं नभएको संसदीय अभ्यास गर्दै हाँडीगाउँको जात्रा देखाएको दिन सम्झन्छु । समाचार रेडियो नेपालबाट प्रशारण हुँदै गर्दा म मैतिदेवीस्थित मित्र विपिन निरौलाको डेराबाट निस्केर डिल्ली बजार उकालो चढ्दै थिएँ । ‘थुक्क ! खत्तम पारे’ भन्दै आत्मा रुवाउँदै बल्ल–तल्ल डेरा आइपुगेको थिएँ । मलाई लाग्छ, त्यो त्यही दुर्भाग्यपूर्ण दिन थियो, जसले आजसम्म मुलुकलाई अस्थिर सत्ता–राजनीतिको भासमा डुबाएको–डुबायै छ । यदि त्यो बेला काङ्ग्रेसको बहुमतको सरकार नढलेको भए, जननेता बिपी कोइरालाले देखेको सपनाको धेरै अंश पूरा गर्न सम्भव हुन्थ्यो र त्यसपछिका दुई–तीन चुनावमा काङ्ग्रेसले सहज बहुमत पाउँथ्यो । कम से कम मुलुकको यो हविगत हुन्नथ्यो । आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने यस्तो प्रवृत्तिलाई ‘साला’ नभनेर के भन्नु !
बिपीको सपनाको कुरा गर्दा, कसैले माने पनि नमाने पनि समय सधैं एकनास रहिरहँदैन । राज्यको मूलधारमा एक समय हाली–मुहाली गरेको नेपाल प्रजा परिषद् जस्तो राजनीतिक पार्टी कालान्तरमा हराएर जान्छ । परिवर्तन सृष्टिको नियम हो । सोही नियम अनुसार आफूलाई अद्यावधिक र अनुकुलन गराउन नसक्ने डाइनोसर जस्तो भीमकाय जनावर मासिएर जान्छ । तसर्थ हामीले अङ्गीकार गर्दै आएको सिद्धान्त र व्यवहारमा पनि समयानुकूल नवीनताको खोजी भइरहन्छ । जो समीचिन हुन्छ त्यो टिक्छ, जो हुँदैन वा हुन चाहँदैन त्यो इतिहास र सम्झनामा सीमित हुन्छ ।
नेपाली काङ्ग्रेसको हालै सम्पन्न १३ औं महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा जति पनि गुट–उपगुट र आफूलाई स्वतन्त्र उम्मेद्वारका रूपमा चिनाउनेहरू थिए, ती सबैलाई एकतामा बाँध्ने एउटै सूत्र थियो, बिपीको सपना । उनीहरू हरेकले आफूलाई नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी–सान्दाजु) को सपना राम्ररी बुझेको अर्थात् उनको सच्चा अनुयायी आफू भएको रूपमा प्रस्तुत गरेका थिए । तर, उनीहरूमध्ये अधिकतर बिपीको सपनाबारे जानिफकार भने थिएनन् । यसै पृष्ठभूमिमा मुलुकको सबैभन्दा ठुलो पार्टीको महाधिवेशन नीतिमुखी होइन, नेतामुखी भएर सम्पन्न भएको देखियो ।
साँच्चै के थियो, बिपीको सपना ? बिपीले जीवनभर केका लागि लड्नुभयो ? के थियो, उहाँको राजनीतिक विचार ? के बिपीले ७० वर्ष अघिको सेरोफेरोमा देखेको सपना अझै समकालीन महत्वको छ ? कि यसमा अद्यावधिक सुधार गर्नुपर्ने आवश्यकता छ ? यी निकै विचारणीय जिज्ञासा हुन् । तर, सम्पन्न महाधिवेशनमा यसमा पर्याप्त बहस हुन पाएन । राणा र पञ्चायतको निरङ्कुशताविरुद्ध राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद गरी पार्टीको झन्डामा चार तारा सङ्गठित गर्दैगर्दा बिपीको सपना थियो, एउटा छाप्रो, एउटा दूध दिने गाई र खान पुग्ने जमिन । तर, अहिले गाउँ सहरमा, झाप्रो फ्ल्याट वा पक्की घरमा रूपान्तर भइसक्यो । खेती योग्य जमिन कङ्क्रिटको जङ्गल भइसक्यो । त्यसैले समयअनुसार बिपीको सपनाको पुनःव्याख्या जरुरी थियो, तर काङ्ग्रेस महाधिवेशनले त्यतातिर रुचि देखाएन । भनिन्छ, बिपीको सपनामा ‘घरमा एउटा इमानदार नोकर’ होस् भन्ने पनि थियो । तर, यो कुरा काङ्ग्रेसीहरूले आजसम्म लुकाएरै राखेका छन् । थाहा छैन, काङ्ग्रेसीहरूले जनतासँग यस्तो छलछाम किन गरिरहेका छन् ?
संसदीय व्यवस्था बिपीको राजनीतिक सपना थियो । तर, के आफ्नै बहुमतको सरकारको नीति तथा कार्यक्रममा भोट नहालेर आफ्नै पार्टीका सभासदले सरकार ढाल्ने संसदीय व्यवस्था बिपीले कल्पना गरेका थिए ? अँ, बिपीले भनेका थिए, जब जनताले अन्याय र शोषणका विरुद्ध आन्दोलन गर्छन्, त्यस्तो आन्दोलनको सफल समाप्तिपछि केही सुकिला–मुकिलाले राज्यका विभिन्न पद हत्याउने छन् । र, जनताले फेरि त्यस्ताविरुद्ध क्रान्ति गर्नुपर्छ । बिपीको यो सपना भने अझ पनि समकालीन भए जस्तो लाग्छ ।
बिपी बिरामी पनि थिए । उपचारमा धाउँदा उनको धेरै समय खर्च भएको थियो । यो सन्दर्भसँग समेत बिपीको सपनाको सम्बन्ध छ । धरानमा बिपी प्रतिष्ठान उद्घाटन गर्न आउँदा तत्कालीन प्रधानमन्त्री, बिपीका भाइ गिरिजाप्रसाद कोइरालाले भनेका थिए, सान्दाजुले अल इन्डिया मेडिकल कलेजको बार्दलीबाट स्वस्थ नेपालको सपना देख्नुभएको थियो । कम से कम क्यान्सरको उपचार गर्ने स्वास्थ्य संस्था आफ्नै देशमा होस् भन्ने उहाँको चाहना थियो । बिपीको खास सपना भनेको राजासहितको संसदीय बहुदलीय प्रजातान्त्रिक व्यवस्था तथा समाजवाद हो । तर, समय अन्तरमा राजा छैनन्, जुन पृष्ठभूमिमा काङ्ग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले बिपीको सपना साकार पार्ने भन्दै गरेको प्रण त्यति समकालीन देखिँदैन । ओठमा मुस्कान भएका समृद्ध जनता बिपीको सपना थियो । त्यसैले अबको काङ्ग्रेस नेतृत्वले बिपीको सपनाभन्दा पनि जनताको समृद्धिको सपना साकार पार्न प्रण गर्नु समीचिन हुन्छ ।
नयनराज पाण्डेका अनुसार अब हामीले बिपी, गणेशमान, किसुनजीको सपनाको कुरा गर्नु त्यति जायज छैन । हामी के सपना देख्दैछौँ ? अब आफ्नो सपनाको कुरा गर्ने बेला हो यो । तर, यो धरातलीय यथार्थबाट काङ्ग्रेस किन सीमान्त हुँदैछ ? जसले नयाँ सपनाका कुरा गर्छ, तिनीहरू एक–एक गर्दै काङ्ग्रेसमा चुनाव हार्छन् किन ? राजनीतिमा केही परिवर्तन गरौं, समकालीन काम गरौं भन्ने युवाहरूलाई ‘अहिले तपाईहरूको उमेर बाँकी छ,’ भनेर सकेसम्म निरुत्साहित गर्ने प्रवृत्ति काङ्ग्रेसमा ऐंजेरु बनेको छ ।
यस्तो वातावरणमा म काङ्ग्रेस भइरहनुको अर्थ के हो ? यसका मात्र दुई वटा कारण छन् । एक चाहे जुुनसुकै अर्थमा होस्, काङ्ग्रेसीहरू आपसमा अभिवादन गर्दा सानले ‘जय नेपाल’ भन्छन्, जुन मलाई औधी मन पर्छ । जसरी भारतीयहरू ‘जय हिन्द !’ भन्दा गौरवको अनुभव गर्छन्, त्यसरी नै सबै नेपालीले ‘जय नेपाल’ भन्ने दिन कहिले आउला भन्ने लागिरहन्छ । अर्को कारण, काङ्ग्रेसमा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी छ । खान नपाए पनि मन लागेको कुरा बोल्न पाइन्छ । काङ्ग्रेसलाई गाली गर्न पनि पाइन्छ । कसैले म काङ्ग्रेस हुँ भनुन्जेल ऊ काङ्ग्रेस हुन्छ । एक–दुई जना लठैतहरूको व्यवहार बेग्लै कुरा हो, आम रूपमा स्वतन्त्रता उपभोगको बेग्लै मजा छ काङ्ग्रेसमा ।
यसबाहेक विविध विमतिहरू छन् काङ्ग्रेससँग मेरा । पहिलो म जसरी सोच्छु, काङ्ग्रेसले त्यसरी सोच्दैन, किन ? म मुलुकको राजनीतिक पार्टी जस्तो होस् भन्ने चाहन्छु, हेर्दाहेर्दै काङ्ग्रेस त्यो भन्दा निकै पर भइसकेको छ । म चाहन्छु, मलाई जस्तै मेरो पार्टीलाई पनि कालापानी बिझाओस्, लिपुलेक र सुस्ता दुखोस् । सुनसरीको रानीगञ्ज भन्सारसहित सात हजार बिघा नेपाली भू–भाग कोसी ब्यारेज निर्माणको बहानामा भारतमा विलय पारिएको मुद्दालाई प्राथमिकता देओस् । नेपाललाई विश्वको एक मात्र हिन्दू राष्ट्र बनाउन काङ्ग्रेसले आफूले सकेको योगदान मिसाओस् । काङ्ग्रेसले संविधानबाट ‘दलित’ शब्द हटाउन र दलित आयोग खारेज गर्न भूमिका निर्वाह गरोस् । म चाहन्छु काङ्ग्रेसीहरूले आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको सम्मान पनि गरुन् ।
त्यस्तै, पार्टीले कुनै पनि आवधिक निर्वाचन हुनुपर्ने समयमै गरोस्, गर्न दबाब देओस् । जातको होइन, वर्ग उत्थानको राजनीति गरोस् । विदेश जाने सबै युवालाई देशमै बस्न आग्रह गरोस् । भ्रष्टाचारमा मुखले होइन कामले नै शून्य सहनशीलता देखाओस् । हाम्रा होइन, राम्रा मान्छेलाई महत्व देओस् । नेता त्यस्तो नहुर्काओस्, जसलाई दुनियाँले छि ! भनुन् । बरू पार्टीले बहुमत सरकार बनाउन पाएमा तपाईहरूले कमाएको ६०–७० प्रतिशत लिन्छौं तर शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको ग्यारेन्टी हुने राष्ट्रिय नीति बनाउँछौं भनोस् । पार्टीले कुनै पनि निकायमा एन्टी भोटिङको व्यवस्थाका लागि लविङ गरोस् । प्रजातान्त्रिक संस्कार सिद्धान्तमा होइन, व्यवहारमा रुपान्तर गरोस् । टेबुलमा राष्ट्रिय झन्डा ओछ्याएर त्यसमाथि रक्सीको गिलास राख्ने हात गगन थापाहरूका नहुन् । आशलाग्दो पुस्ता घैंटेहरूका प्रतिरक्षामा नआओस्् । कार्यकर्ताहरूमा सुशील कोइरालाहरूको शवदाह विद्युतीय मेसिनमा गर्दा राम्रै हुन्थ्यो भन्ने समयानुकूल र प्रविधिमैत्री धारणा विकास गराओस् ।
यतिबेला २०१५ सालको एउटा चुनावी पर्चा मेरो सामु छ । जसमा लेखिएको छ, ‘नेपाली राजनीतिका जन्मदाता, क्रान्तिका वीर सेनानी, नेपालका एक मात्र राष्ट्रिय नेता, न्याय र बलिदानका प्रतिमूर्ति विश्वेश्वरप्रसाद कोइरालालाई भोट दिनु हाम्रो कर्तव्य हो । मोरङको ३२ नम्बर क्षेत्रबाट खडा भएर उहाँले हाम्रो जिल्लाको सम्मान बढाउनुभयो । उहाँलाई ठुलो बहुमतबाट विजयी बनाएर हामी राष्ट्रको इज्जत बढाऔं ।’
म छक्क पर्छु, काङ्ग्रेस यति उच्च नैतिक साहसको सगरमाथाबाट क्रमशः ओरालो, ओरालो, ओरालो किन लागिरहेको छ ? अनि, म जुन सिद्धान्तलाई आदर गर्छु, साला त्यो व्यावहारिक जीवनमा किन पाउँदिन ? सम्भवतः समयानुकूल व्यापक रूपान्तरको आवश्यकता छ – ममा पनि र मेरो पार्टीमा पनि !

प्रतिक्रिया दिनुहोस्