बेलायती राजकुमार ह्यारी भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका • Image Khabar Image Khabar


बेलायती राजकुमार ह्यारी भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ०८:५८

बेलायती राजकुमार ह्यारी भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

नारायण न्यौपाने/विष्णु नेपाल ।

काठमाडौं, चैत ५ । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा शनिबार नेपाल आउँदै छन् ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिकारूपमा राजकुमार ह्यारीबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीकाबीचमा शनिबार नै शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्नेछन् ।

यसपछि राजकुमार ह्यारीे गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका ललितपुर र भक्तपुरका स्थलको भ्रमणमा निस्कनेछन् ।

यसक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक स्थलमा भएको क्षतिको अवलोकन गरी जानकारी लिनेछन् । साथै उनले नागबहालस्थित ‘गोल्डेन टेम्पल’को अवलोकनसमेत गर्नेछन् ।

सोही दिन राजकुमार भक्तपुर गइ भूकम्पपीडित समुदायसँग उनीहरुका भोग्नुपरेका दुःख र व्यथाहरु सुन्ने र सहानुभूति प्रकट गर्नेछन् । त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीकाबारेमा पनि जानकारी लिनेछन् ।

पर्वतीय पदयात्रामा सौखिन ३२ वर्षीय राजकुमार ह्यारी सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।

त्यहाँ रहँदा उनले वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी गर्नेछन् । साथै गोर्खा सैनिक कल्याणकारी कोषले भूकम्पले क्षति पुर्‍याएका संरचना निर्माणसम्बन्धी जानकारीसमेत लिनेछन् ।

‘जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छैन’ भनेर गोर्खा सैनिकको बहादुरी र इमान्दारिताको राजकुमारबाट उच्च प्रशंसा हुँदै आएको छ ।

पोखरा बसाइँमा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्षरुपमै रसस्वादन गर्नेछन् । साथै उनले सूर्याेदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनसमेत आनन्द लिनेछन् ।

साथै सोही दिन राजकुमार बर्दिया राष्ट्रिय निकुञ्ज गइ त्यसको अवलोकन गर्नेछन् । त्यहाँ अवस्थित खौराहा नदीमा जलयात्रामा सरिक हुनेछन् ।

भ्रमणकाक्रममा राजकुमारबाट नेपालमा पहिलोपटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुनेछन् ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआइडी)को आर्थिक एवं प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो ।

राजकुमारले सोही दिन कान्तिबाल अस्पताल गइ त्यसकाबारेमा जानकारी लिनेछन् । साथै सानोठिमी प्राविधिक विद्यालय गइ प्राविधिक शिक्षाकाबारेमा जानकारीसमेत लिनेछन् ।

सन् १८५२ मा प्रधानमन्त्री जंगबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपाल–बेलायत भ्रमण आदान–प्रदानले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ ।

हालसम्म नेपालबाट बेलायतको उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ ।

बेलायतकी महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुईपटक नेपालको भ्रमण भयो भने युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्