नेतृत्व रहरको कुरा होइन : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य, नेपाली कांग्रेस • Image Khabar Image Khabar


नेतृत्व रहरको कुरा होइन : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य, नेपाली कांग्रेस


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ११:४५

नेतृत्व रहरको कुरा होइन : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य, नेपाली कांग्रेस

कांग्रेसभित्र शालिन नेताका रुपमा चिनिन्छन् ज्ञानेन्द्रबहादुर कार्की । पूर्व जलस्रोत मन्त्रीसमेत रहेका कार्कीले २०३९ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर विद्यार्थी राजनीतिलाई अगाडि बढाए । शेरबहादुर देउवाका निकट मानिने कार्की पार्टीभित्रको गुट–उपगुटलाई अन्त्य गर्नु पर्ने मत राख्छन् । प्रस्तुत छ, उनीसँग गरिएको महाधिवेशन केन्द्रित छोटो वार्ता :

महाधिवेशन नजिकिएसँगै पार्टीभित्र संस्थापन र देउवापक्ष अझ प्रष्ट देखियो नि त ?

यो बजारिया कुरा हो । हाम्रो पार्टीभित्र संस्थापन पक्ष वा विपक्ष केही छैन । सिंगो नेपाली कांग्रेस छ, त्यसकालागि हामी सबैले काम गरेका छौं ।

तपाईले यसो भनिरहँदा प्रभावशाली नेताहरुलाई तानातान गर्ने होडवाजी पनि त चलेको छ नि ?

यो कुनै नौलो कुरा होईन । कांग्रेस पुरानो र ठूलो पार्टी हो । पार्टीमा लामो योगदान पुर्‍याएका थुप्रै नेता छन् । चुनावका बेला आकाँक्षीहरु पनि धेरै हुन्छन् । सबैले आफुले जित्ने तयारी गर्ने हो, जित्नका लागि त प्रतिद्वन्द्वीको पनि मत तान्नु पर्‍यो । यसलाई ठूलो विषय बनाउनु राम्रो होइन ।

सभापति सुशील कोइरालाको निधनसँगै पार्टी नेतृत्वको विवाद चर्कियो भनिन्छ, होइन र ?

सभापतिको असामयिक निधन हुँदा पार्टीमा केही अन्योल देखिन्छ नै । सबैले आफुलाई सभापतिको दावेदार पनि मान्छन् । यसलाई पनि म सामान्य रुपमा लिन्छु । तर पार्टीभित्र अनेक कुराको मुल्याङ्कन हुन्छ । पार्टी हाँक्ने कुरा लरतरो होईन । कार्याकर्ताले पत्याउनु पर्‍यो । पार्टी संचालन गर्ने क्षमता पनि हुनुपर्‍यो । अहिले पार्टीको नेतृत्वको कुनै विवाद छैन । आकांक्षीहरु बढेकामात्र हुन् ।

सभापतिका लागि नै सातजना आकांक्षी देखिनुलाई के भन्ने ?

हेर्नुस्, कांग्रेस विशाल पार्टी हो । ठूलो पार्टीमा नेतृत्वमा जान जो कोही रहर गर्छन् । नेतृत्व रहरको कुरै होईन । चुनाव हुँदैछ, आकांक्षी जति भए पनि केही फरक पर्दैन । कार्यकर्ताले पार्टीलाई चाहिने नेतृत्व चुन्छन् ।

महाधिवेशन पछि कांग्रेस कस्तो हुन्छ ?

अझ सवल कांग्रेस हुनेछ । यो देशलाई कांग्रेसको आवश्यकता छ । देशकालागि कांग्रेस अझ बलियो हुनुपर्छ ।

तपाईको आकांक्षा के ?

राजनीतिक जीवन चार दशक लामो भइसक्यो । पार्टीका लागि सिंगो जीवन समर्पित गर्ने मजस्ता थुप्रै कांग्रेसमा छौं । साथीहरुको सल्लाहले नै १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेँ र जितेँ । अहिले पनि साथीहरुले आउनै पर्छ भनिरहेका छन् । मैले पनि पार्टीमा अझ काम गर्न बाँकी छ । साथीहरुको सल्लाह मानौंजस्तो लाग्दैछ ।

पार्टीमा काम गर्न केन्द्रीय सदस्य नै हुनुपर्छ र ?

कांग्रेसको राजनीतिमा काम गर्न पद नै चाहिने कुरा होइन । तर पार्टीको केन्द्रीय नेतृत्वसँग जिम्मेवारी धेरै हुन्छ । यसैले पनि जिम्मेवारीमा बसेर पार्टीलाई सवल बनाउने ईच्छा त सबैमा हुन्छ नि ।

तपाईको जिम्मोवारी पार्टीमा के हुन्छ ?

म जहिलेसुकै पार्टीप्रति इमान्दार छु । पार्टीले खटाएको काममा म सँधै जवाफदेही छु । अहिलेको चुनौती पार्टीलाई एक बनाएर अघि बढ्ने हो । पार्टीमा गुट–उपगुट हुनु राम्रो होइन । यसको अन्त्यका लागि मेरो सँधै प्रयास रहनेछ ।

प्रतिक्रिया दिनुहोस्