म चिनिएको कार्यकर्ता हुँ, कसैको कित्तामा हुनुपर्छ भन्ने छैन: रामनाथ अधिकारी • Image Khabar Image Khabar


म चिनिएको कार्यकर्ता हुँ, कसैको कित्तामा हुनुपर्छ भन्ने छैन: रामनाथ अधिकारी


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ११:४९

म चिनिएको कार्यकर्ता हुँ, कसैको कित्तामा हुनुपर्छ भन्ने छैन: रामनाथ अधिकारी

वि.स. २०१८ सालमा धादिङको सामान्य परिवारमा जन्मिएका रामनाथ अधिकारी सादगी र निष्ठावान नेताका रुपमा चर्चित छन् । ०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रहमा नेपाली कांग्रेसको झण्डा लिएर आन्दोलनमा उत्रिएका अधिकारी कांग्रेस भएकै नाममा पटक पटक जेल सजाय भोगेका नेता हुन ।

२०४५ साल वैशाख ६ गते प्रहरीले गिरफ्तार गरी चारपाटा मुड्ने सम्मका ज्यादती सहेका अधिकारी ०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछिको आठौँ महाधिवेशनमा पहिलो पटक नेपाली कांग्रेस धादिङको जिल्ला कार्य समितिको सहसचिवमा निर्वाचित भएपछि कांग्रेसमा निरन्तर क्रियाशिल छन् ।

उनी २०५४ सालदेखि २०७२ सालसम्म निरन्तर धादिङ जिल्ला सभापति भएर काम गरेका नेता हुन । २०६२/०६३ को जनआन्दोलनमा काठमाडौं कलंकीको मोर्चा समालेर आन्दोलनकारीलाई आँट, साहस प्रदान गरेर चर्चा कमाएका अधिकारी १३ औं महाधिवेशनमा प्रदेश नम्बर ३ बाट केन्द्रीय सदस्यका रुपमा उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसको भावी नेतृत्व र पार्टी सुदृढिकरणका विषयमा उनीसँग गरिएको कुराकानी:

कांग्रेस पैसामुखी वा नेतामुखी बन्दै गएको हो ?

पार्टीको आन्तरिक संगठनमा आर्थिक चलखेल भएको हो भन्ने कुरा बाहिर आएको छ । तर पार्टीभित्र वीपीका अनुयायीहरु धेरै छन् । संगठनलाई बदनाम गर्नका लागि त्यस्तो वातावरण बनाइएको छ, तर त्यस्तो होइन । कांग्रेसको सदस्य बनिसकेका कार्यकर्ताहरु वीपीका आदर्शहरु नै हुन, उनीहरु अनुशासित छन । होला, कार्यकर्ताहरुको संख्या बढेको छ, भीडभाडमा केही कमजोरी भएको होला तर कार्यकर्ताहरु अनुशासीत छन् ।

अनि कांग्रेस नीतिमूखि हुन सकेन भनिन्छ, यथार्थ के हो ?

नेपाली कांग्रेसको जन्म भएदेखि आदर्श विर्सियो, लत्यायो भन्ने कुराहरु सधैं उठिरहन्छन । तर कांग्रेसको मुल विचारमा विचलन आएको छैन । तथापी, त्यसलाई व्यवस्थापन गर्ने कुरामा कमजोरी मात्र भएको हो । कांग्रेस ‘मासवेस’ पार्टी हो तर ‘क्याडरवेस’ होइन । यसर्थ पार्टीले सबै कुरा विर्सियो भन्ने पक्षमा म चाहीं छैन ।

अब कांग्रेसलाई बलियो बनाउन कस्ता चुनौतीहरु छन ?

कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा जनतालाई जानकारी नदिइ श्रद्धेय शुसील कोइराला विदा हुनुभयो । यतिबेला पार्टीको काँधमा ठूलो जिम्मेवारी छ । हामीलाई अब संविधानको कार्यान्वयन, मधेसको अप्ठ्यारो चिर्न हामी बलियो बन्नु जरुरी छ । ठूला जिम्मेवारीहरु पुरा गर्न योग्यत, क्षमता, विचार भएका र जुझारु नेतालाई नेतृत्वमा ल्याउन जरुरी छ । जसका कारण संविधान कार्यान्वयन र मधेसको समस्या समाधान गर्न सहज हुनेछ । मित्रराष्ट्रहरुको सम्बन्ध पनि सुधार गर्ने जिम्मेवारी पनि पार्टीको काँधमा छ ।

हिजोसम्म कांग्रेस भित्र संस्थापन र देउवा गरी दुई समूह थिए । अहिले त धेरै समूहहरु जन्मिएका छन नी ?

नेतृत्वको कमजोरीका कारण यस्तो अवस्था आएको हो । तर देशभरका कार्यकर्ताहरुमा यस्तो विभाजन छैन । कार्यकर्ता एकजुट हुनुपर्छ भन्ने चाहना राख्छन् । सबै कार्यकर्ताहरु एकढिक्का हुनुपर्छ भन्ने पक्षमा छन् ।

कांग्रेसभित्र विभिन्न कित्ता छन् । एउटा कित्ताको फेरो नसमाए राजनीति गर्न गार्‍हो हुन्छ भनिन्छ नी ?

म विगत १८ बर्ष देखि जिल्लाको सभापति भएको छु । कांग्रेसका परिवर्तनका लागि भएका आन्दोलन म कहीं चुकेको छैन । म चिनिएको कार्यकर्ता हुँ म कतैको कित्तामा हुनुपर्छ भन्ने जरुरी छैन ।

नेपाली कांग्रेसमा तपाईको उम्मेद्वारी के का लागि हो ?

पार्टीको विधानमा धेरै कमजोरी छन् । जनताको वीचमा बसेर काम गर्ने हामीले केही अधिकारहरु दिनुपर्ने अवस्था छ । जनतालाई पर्ने अप्ठ्यारोका विषयमा हाम्रा नेताहरु जानकार छैनन रहेछन् । यतिमात्र नभई संविधान कार्यान्वयन, मधेसको समस्या समाधान साथै आन्तरिक संगठन बलियो बनाउन मेरो उम्मेद्वारी हो ।

गुटको रमिता हेरिरहेका देशभरका प्रतिनिधीहरुलाई तपाईको भनाई के छ ?

देशभरका कार्यकर्ताहरुको चाहाना भनेको ‘सादा जीवन उच्च विचार’ हो । हामी त्यही आदर्शबाट अघि बढने बेला भएको छ । सादगी नेतालाई छान्ने बेला भएको छ ।

प्रतिक्रिया दिनुहोस्