कांग्रेस रहेन भने नेपाल रहन्छ की रहँदैन भन्ने विश्वलाई चिन्ता छ: डा.नारायण खड्का • Image Khabar Image Khabar


कांग्रेस रहेन भने नेपाल रहन्छ की रहँदैन भन्ने विश्वलाई चिन्ता छ: डा.नारायण खड्का


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ११:५२

कांग्रेस रहेन भने नेपाल रहन्छ की रहँदैन भन्ने विश्वलाई चिन्ता छ: डा.नारायण खड्का

बिराटनगरमा वि.स २०२४ सालमा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका डा. नारायण खड्का नेपाली कांग्रेसका इमान्दार र बैचारिक क्षमता भएका नेताका रुपमा चिनिन्छन । विभिन्न चरणका आन्दोलनहरुमा पटक–पटक जेलनेल भोगेका खड्का पार्टीलाई बैचारिक र एकताबद्ध रुपमा अघि बढाउने अभियानमा छन् । खड्काले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदाताका सल्लाहकारका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

संविधानसभा चुनावमा उदयपुर जिल्लामा अत्याधिक मत प्राप्त गरी सांसद भएका उनी पटक पटक मन्त्री समेत भइसकेका छन् । जिल्लाको बिकासमा उच्च योगदान पुर्‍याएका खड्का पार्टी भित्र पनि केन्द्रीय सदस्यका हैसियतले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन् । उनी कांग्रेसको १३ औं महाधिवेशन मार्फत पुनः केन्द्रीय सदस्यको रुपमा आफूलाई उभ्याएका छन् ।

भावी नेतृत्व र अबको कांग्रेसका सवालमा खड्कासँग इमेजखबर डटकमका लागि युवराज गौतमको कुराकानी:

तपाईको बिचारमा अबको कांग्रेस कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

यतिबेला देश सवेदनशिल अवस्थामा छ । मधेस आन्दोलन यतिबेला सेलाएको मात्र छ । तर पुनः जाग्न सक्छ र अन्य जाति समुदायमा प्रहार गर्नसक्छ । त्यसैले तत्कालिनDr. Narayan Khadka अवस्थामा पहिचान, अग्राधिकार, स्वायत्तताका मुद्दाहरुलाई समाधान गरिहाल्नुपर्ने आवश्यक्ता छ । शान्ति स्थापना र संविधान कायान्वयन गर्नु पनि हाम्रो ठूलो दायित्व हो । मूल्य बृद्धि, बेरोजगारी समस्याको समाधान हामीले पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । त्यतिमात्र नभई मुलुकलाई बाहिरी सुरक्षाको खतरा पनि रहेकाले यसमा हामी जिम्मेवार हुनु जरुरी छ । यी सबै समाधानका लागि पार्टीको शसक्त रोडम्याप बनाउनु आवश्यक्ता छ ।

यतिबेला पार्टीको अवस्थालाई कसरी मूल्याकंन गरिरहनु भएको छ ?

मुलतः पार्टीप्रति म यतिबेला धेरै चिन्तित छु । पार्टीको स्वरुप कस्तो हुने हो भन्ने चिन्ता छ । आर्दश, मूल्य, मान्यता र देशको परिस्थिति अनुसार चल्छ की चल्दैन भन्ने गम्भिर विषय छ । यदि कांग्रेस नरहँदा नेपाल रहन्छ की रहँदैन भन्ने विश्वलाई चिन्ता छ । यस्ता सबैखाले समस्याहरुको समाधान गर्ने नेतृत्व यतिबेलाका लागि आवश्यक छ । हामीले नेतृत्वलाई हल्का रुपमा लिइयो भने इतिहाँसले दण्ड गर्ने छ । यतिबेला पार्टी भड्किलो हुँदै गएकाले सोझा कार्यकर्ताहरु पीडित हुने अवस्था आउन नसक्ला भन्न सकिदैन । त्यसैले अब लोकतान्त्रिक,, सालिन र सभ्य तरिकाले पार्टीका लागि सोच्ने बेला आएको छ । अन्य दलहरु हामीले अवलम्बन गरिरहेको बाटोमा हिडिरहेका छन् । कांग्रेसले डोहोर्‍याएको बाटोमा नेपालका राजनीतिक दलहरु पनि हिड्ने भएकाले यस्तो अवस्थामा हामी गम्भिर हुनु जरुरी छ ।

यतिबेला पार्टीमा युवाहरुको आकर्षण बढ्दो छ । यसलाई व्यवस्थापन गर्ने उपाय के हुन सक्ला ?

हुनत, नेतृत्व जमेर बस्नुहुँदैन । मृत्युपर्यन्त राजनीति नछाडेने र पद नछाडने परिपाटीको अन्त्य गर्नुपर्छ । युवाहरुको सहभागितालाई सम्मान गर्नु पर्ने देखिन्छ । नेतृत्व जमेर बस्यो भने अन्र्तपुस्तामा द्धन्द्ध हुनसक्छ । यति हुँदा हुँदै पनि पुरानालाई निकालिहाल्छु भन्ने र नयाँलाई स्थान नदिने सोच अतिबादी हो । त्यसैले सबैलाई कम्बाइन गरेर अघि बढ्नुपर्छ । पुरानालाई सम्मान र नयाँलाई अवसर दिने वातावरण सिर्जना गर्नुपर्छ ।

पार्टीको सुदृढिकरणका लागि तपाईसँग त्यस्तो कुनै रोडम्याप छ ?

सामान्य रोडम्यापले पार्टी चल्दैन । चारबर्षे कार्यअवधीको प्रत्येक बर्षका लागि फरक फरक योजना बनाइनुपर्छ । पुरानो पाराले पार्टी चलाउने परिपाटीको अन्त्य गर्दै जिम्मेवारी बाँडफाड गरेर कार्य गर्नुपर्छ । पार्टीलाई ब्यक्तिको केन्द्रमा राखेर स्थान सुरक्षित राख्ने प्रबृत्तिको अन्त्य हुनुपर्छ । पार्टीलाई गतिशिल बनाइरहने योजना तयार गर्नुपर्छ । गुट–उपगुटको अन्त्य गरिहाल्नु हाम्रो प्राथमिकतामा राख्नुपर्छ ।

१३ औं महाधिवेशनपछि गुट उपगुटको अन्त्य होला की नहोला ?

यसको अन्त्य गर्न शेरबहादुर, रामचन्द्रजीहरुनै अग्रसर हुनुपर्छ । चिट बाँडेर गुट बनाउने परिपाटीको अन्त्य गर्न सबैले प्रयास थाल्नुपर्छ । तर यसैपटक अन्त्य होला भन्ने त छैन तर प्रयास चाहीं थाल्नुपर्छ ।

अबको नेतृत्व कस्तो हुनुपर्छ ?

यतिबेला ‘हाइट’ पुगेको व्यक्ति नेतृत्वका लागि योग्य कोही पनि छैन । त्यसैले सामूहिक नेतृत्व आजको आवश्यक्ता हो । आफूमा भएको सामान्ती चरित्रको अन्त्य गर्दै सामुहिक नेतृत्व अगाँल्नु उपयुक्त हुन्छ । यसको अभ्यास गर्न केही समय लाग्न सक्छ । हामीले लोकतान्त्रिक पद्धतीको अभ्यास पार्टीको आन्तरिक स्तरबाटै सुरु गर्नुपर्छ त्यसपछि मुलुकमा लोकतन्त्रको अभ्यास थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्