१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


म्यान्चेस्टर युनाईटेड, टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी


0
Shares

काठमाडौं, चैत ८ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार रातिका खेलहरुमा म्यान्चेस्टर युनाईटेड, टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी भएका छन् ।

उपाधि दावेदारीमा रहेको टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३-० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले दुई तथा क्रिश्चियन एरिक्सनले एक गोल गरे ।

आइतबार राती भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई १-० ले हरायो । सिटीको मैदानमा भएको म्यान्चेस्टर डर्बीमा युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा साउथह्याम्पटनले लिभरपुललाई ३-२ ले पराजित गर्‍यो । साउथह्याम्पटनका लागि सादियो मानेले दुई तथा ग्रेजियानो पेलाले एक गोल गरे ।

लिभरपुलका फिलिप कौटिन्हो र ड्यानिएल स्टरीजले एक एक गोल गरेका थिए । गएराती भएको अर्को खेलमा न्युकासल युनाईटेड र सण्डरल्याण्डले १÷१ गोलको बराबरी खेलेका छन् ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३१ खेलबाट ६६ अंक जोडेको लेष्टर सिटी शिर्ष स्थानमा छ ।

समान खेलबाट ६१ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको आर्सनल ५५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।