
काठमाडौं, चैत १० । बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको शक्तिशाली बम आक्रमणमा दुई दाजुभाइ संलग्न रहेको बेल्जियमका सन्चारमाध्यमहरुले जनाएका छन् ।
ती ‘आक्रमणकारी’को नाम खालिद र ब्राहिम इल–बाक्राओइ भएको उल्लेख गरिएको छ ।
जाभेनटेम विमानस्थलमा रहेको सीसीटीभी क्यामेरामा कैद गरिएको दृश्यमा देखिएका तीनमध्ये कम्तिमा एकजना शंकास्पद व्यक्ति रहेको स्थानीय ‘आरटीबीएफ’ सन्चारमाध्यमले जनाएको छ ।
एकैसाथ देखिएका तीनजना युवाको तस्वीर सार्वजनिक गरिएको छ । तस्वीरमा कालो पहिरनमा दुईजना र एकजना सेतो पहिरनमा रहेको देखाइएको छ ।
कालो पहिरनका दुई व्यक्तिले आफैंलाई विस्फोट गराएको र सेतो पहिरनका युवा भने फरार छन् । उनको ब्यापक खोजी गरिएको छ ।
विस्फोटलगत्तै गरिएको खानतलासीकाक्रममा सुरक्षाकर्मीहरुले विमानस्थलमा किला र रासायनिक पदार्थले भरिएको विस्फोटक ‘डिभाइस’ फेलापारेका छन् भने विमानस्थलका प्रस्थान कक्षमा एक राइफल फेला परेको छ ।
त्यसैगरी, बम राखिएको एक ज्याकेट पनि बरामद गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
मंगलबार ब्रसेल्सको विमानस्थल र मेट्रो रेलसेवामा गरिएको आक्रमणमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने २ सय ५० जना घाइते भएका छन् ।
आक्रमणपछि बेल्जियममा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमणको जिम्मेवारी लिँदै थप आक्रमणको चेतावनी दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्