ग्यासमा गोलमाल ! वितरण पारदर्शी नभएको ठहर, कडा अनुगमन गर्न मन्त्रीको निर्देशन • Image Khabar Image Khabar


ग्यासमा गोलमाल ! वितरण पारदर्शी नभएको ठहर, कडा अनुगमन गर्न मन्त्रीको निर्देशन


Imagekhabar
१२ चैत्र २०७२, शुक्रबार १३:५४

ग्यासमा गोलमाल ! वितरण पारदर्शी नभएको ठहर, कडा अनुगमन गर्न मन्त्रीको निर्देशन

काठमाडौं, चैत १२ । आपूर्तिमन्त्री गणेशमान पुनले देखाउने गरी नभइ नियमन गर्ने गरी कडारुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् ।

खाना पकाउने एलपी ग्यास मागभन्दा कम आएपनि वितरण राम्रो नभएको भन्दै उनले देखाउने गरी नभइ नियमन गर्ने गरी अनुगमन गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार ग्यास उद्योगी, ग्यास विक्रेता, उपभोक्तावादीसँगको छलफलमा मन्त्री पुनले ग्यास उद्योगी, विक्रेतासमेतको भनाइबाट अनुगमन गर्न ‘खजाना’ मिलेको भन्दै प्रभावकारी अनुगमन गरिने बताए ।

काठमाडौं उपत्यकामामात्रै नभइ कर्णालीसम्मै अनुगमन प्रभावकारी बनाउन उनले निर्देशन दिए ।

मन्त्री पुनले हालको समयमा कोटाभन्दा बढी ग्यास ल्याउन कुनै बन्देज नगरिएको पनि बताए । ग्यास उद्योगीले सकेजति ग्यास ल्याउन पाउने उनको भनाइ थियो ।

छलफलमा बजारमा देखिएको ग्यास अभाव हटाउन उद्योगीले कोटा बढाउन माग गरेका थिए । कोटा बढाइएको खन्डमा १५ दिनभित्र ग्यास आपूर्ति व्यवस्था सहज हुने उनीहरुको दाबी थियो ।

उपभोक्तावादीहरुले राज्यले नियमन गर्न नसक्दा उपभोक्ता कालोबजारीको मारमा परेको बताए । उनीहरुले ग्यास वितरण पारदर्शी नभएको र नियमन पनि नभएको बताए ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले ग्यास वितरण पारदर्शी नभएको जिकिर गरे ।

ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा ग्यास अभाव हुँदा उद्योगी नयाँ सिलिन्डर बेच्न लागिपरेको बताए ।

नाकाबन्दीपछिमात्रै ग्यास उद्योगीले २० लाख नयाँ सिलिन्डर बेचेको उनले बताए ।

उपभोक्ताकर्मीले घर–घरमा ‘होल्ड’ भएका ग्यास सिलिन्डर बाहिर ल्याउने वातावरण बनाउन मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्