काठमाडौंको हुरी ‘शक्तिशाली’, १० जना घाइते • Image Khabar Image Khabar


काठमाडौंको हुरी ‘शक्तिशाली’, १० जना घाइते


Imagekhabar
१५ चैत्र २०७२, सोमबार १२:१९

काठमाडौंको हुरी ‘शक्तिशाली’, १० जना घाइते

अपडेटः
काठमाडौं, चैत १५ । काठमाडौं उपत्यकामा सोमबार अपराह्न आएको भीषण हुरी–बतासका कारण कम्तिमा १० जना घाइते भएका छन् ।

अपराह्न ४ बजेपछि एक्कासि तीव्रगतिमा चलेको हुरीले रुख ढलाउँदा रुखले च्यापिएर १० जना घाइते भएका हुन् ।

दरबारमार्गमा दुईजना, स्वयम्भूमा दुईजना, काँडाघारीमा दुई गरी ६ जना, भक्तपुरमा तीनजना र ललितपुरमा एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

हुरीले थुप्रै स्थानमा रुख, बाँस ढालेको छ भने कतिपय स्थानमा बिजुलीका पोलसमेत ढलेका छन् ।

हुरीले धुलो उडाउँदा राजधानी उपत्यका अन्धकार भएको थियो भने मानिसहरुमा भागदौड मच्चिएको थियो ।

सडकमा चलेका सवारी–साधन रोकिएका थिए भने रोकिएका मोटरसाइकलसमेत हुरीले ढलाएको थियो । हुरीका कारण थुप्रै स्थानमा बिजुली तथा टेलिफोनका तारहरु पनि पोलबाट लत्रिएका छन् ।

हुरी–बतास र एक्कासि बढेको अँध्यरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा बाह्य दुबै उडान तथा अवरण अवरुद्ध भएका थिए ।

बाहिरबाट काठमाडौंतर्फ आइरहेका अन्तर्राष्ट्रिय उडानका विमानहरु लामो समय आकाशमै ‘होल्ड’ भएको र केही विमानहरु नयाँदिल्ली ‘डाइभर्ट’ भएको विमानस्थल प्रहरीले जनाएको छ ।

हुरी–बतास रोकिएपछि उपत्यका तथा आसपासका जिल्लाहरुमा हल्का वर्षा भएको थियो ।

विगत केही दिनदेखि उपत्यकासहित देशका अधिकांश स्थानमा बाक्लो तुँवालो लाग्दै आएको छ ।

सोमबारको हुरी निकै शक्तिशाली भएको र प्रतिघन्टा ८२ किलोमिटरको रफ्तारमा आएको जल तथा मौसम अनुमान महाशाखाले जनाएको छ ।

उपत्यकामा करिब ४५ मिनेट हुरी चलेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्