
काठमाडौं, चैत १५ । नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सर्तकता अपनाउन पुनः आग्रह गरेको छ ।
बोर्डले हाल धितोपत्रको दोस्रो बजार विशेषरुपले निरन्तर बढोत्तरीतर्फ गइरहेकोमा संवेदनशील भएको जनाएको छ ।
भूकम्प र तराई–मधेस आन्दोलनले अर्थतन्त्रलाई नकारात्मक असर गर्दा यो वर्ष आर्थिक बृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने अनुमानको साथै सूचीकृत संगठित संस्थाहरुको अवस्थापनि सन्तोषजनक नरहेको अवस्थामा अर्थतन्त्रको परिसूचककोरुपमा रहेको नेप्से परिसूचक २०७२ असार मसान्तको ९६१ बाट निरन्तर बढेर १३ सय ७० माथि आइसकेको छ ।
बोर्डबाट गरिएका धितोपत्रवजार विकास तथा सुधार कार्यले यस किसिमको विशेष बृद्धिलाई केही सहज गरेतापनि देशको आर्थिक अवस्था, संगठित संस्थाहरुको वित्तीय अवस्था इत्यादि आधारभूत परिसूचकको आधारमा यस बृद्धिलाई सजगतापूर्ण रुपमा लिनुपर्ने बोर्डले जनाएको छ ।
यसैबीच, सोमबार नेप्से सामान्य अंकले सुधारिएको छ । यसदिन नेप्से साढे २ अंकले सच्चिएर १३ सय ७४ मा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस्