काठमाडौं, जेठ ६ । दुईओटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि सोमबार विराज महर्जनको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपालले यही जेठ १९ गते मलेसियासित उसैको मैदानमा र जेठ २३ गते चाइनिज ताइपेइसित उसैको मैदानमा खेल्दैछ ।
टिममा पहिलोपटक युवा खेलाडी अभिषेक रिजालले मौका पाएका छन् । कालिनले विमल घर्तीमगर, भरत खवास, जगजीत श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ र दिनेश राजवंशीलाई टिममा पारेका छैनन् ।
२३ सदस्यीय टिममा गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथू, डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र रवि सिलवाल रहेका छन् ।
मिडफिल्डर र फरवार्डमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
सन् २०२० को विश्वकप छनोट फुटबलको तयारीका लागि दुई मैत्रीपूर्ण खेल खेलाउन लागिएको एन्फाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्