१९औं पुष्पमेला राजधानीमा सुरु • Image Khabar Image Khabar


१९औं पुष्पमेला राजधानीमा सुरु


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार १४:१२

१९औं पुष्पमेला राजधानीमा सुरु

काठमाडौं, चैत १८ । पुष्प व्यवसायको प्रचार–प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष गरिँदै आएको पुष्प प्रदर्शनी को १९औं संस्करण विहीबारदेखि राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा हरेक वर्ष फ्लोरा एक्सपो हुँदै आएको छ ।

मेलाको कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गरे । चैत १८ देखि २१ गतेसम्म चल्ने मेलामा ६४ ओटा स्टल रहेका छन् ।

मेलामा ४५० भन्दा बढी प्रजातिका फूल तथा बोट–बिरुवाहरुको प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् ।

एसोसिएसनका महासचिव मीनबहादुर तामाङले फूल तथा फूलजन्य उत्पादनको आन्तरिक र बाह्य माग वर्षेनि बढ्दै गएको बताए ।

गत वर्ष १ अर्ब ३४ करोडभन्दा बढीको पुष्पजन्य उत्पादनको कारोबार भएको उनले उल्लेख गरे ।

वार्षिक १० देखि १५ प्रतिशतकादरले आन्तरिक माग बढ्दै गएको जनाइएको छ । आयात प्रतिस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै आएपनि बाह्य मागलाई भने हाम्रा उत्पादनको परिणाम एवं गुणस्तरका कारणले सम्बोधन नै गर्न नसकिएको उनले बताए ।

निर्यात् बढाउन उत्पादनको क्षेत्रमा लगानी बृद्धि गर्न र गुणस्तर विकास गर्न पनि अत्यावश्यक भएको महासचिव तामाङले उल्लेख गरे । यसका लागि सरकारको साथ र सहयोगका लागि व्यवसायीहरुले जोड दिए ।

कृषिमन्त्री गजुरेलले कृषिबाटै राष्ट्रिय अर्थतन्त्रको निर्माण सम्भव हुने भन्दै सरकार यस क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

४ दिनसम्म चल्ने मेला ५५ हजार बराबरले अवलोकन गर्ने र ६५ लाखभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्