१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


खोकु–छिन्ताङमा मारिएका १६ जनालाई किन गरिदैन सहिद घोषणा ?


0
Shares

धनकुटा, चैत २० । धनकुटाका स्थानीयवासीले वि.स.२०३६ सालको किसान आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्न माग गरेका छन् ।

खोकु, छिन्ताङ र आँखिसल्लामा भएको किसान आन्दोलनमा मारिएका १६ जनालाई राष्ट्रिय शहीद घोषणा गर्न माग गर्दै उनीहरुले पटकपटक सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

प्रजातान्त्रिक आन्दोलनमा मारिएकालाई सरकारले सहिद घोषणा नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

०३६ सालमा प्रजातन्त्र प्राप्तिका लागि धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्लामा निकै ठूलो संघर्ष भएको थियो । किसान आन्दोलनको रुपमा चिनिने संघर्षमा स्थानिय १६ जनाको मृत्यु भएको थियो ।

पञ्चायती ब्यवस्था बिरुद्ध आवाज उठाएको भन्दै तत्कालिन सरकारको निर्देशनमा सेना र प्रहरीले यो क्षेत्रलाई घेरा हाली कसैलाई गोली हानेर, कसैलाई भिरबाट लडाएर त कसैलाई तमोर नदीमा डुवाएर मारिएको सहिद परिवारका सदस्यहरु बताउँछन् ।

पञ्चायती व्यवस्था बिरुद्ध नै आन्दोलन गर्दा झापाको सुखानीसहित अन्य स्थानमा मारिएका ब्यक्तिलाई सरकारले यसै वर्ष सहिद घोषणा ग¥यो । तर, धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्लामा उस्तै आन्दोलन गर्दा मारिने १६ जना भने यो वर्ष भने सहिदकोे सूचीमा अटाउन सकेनन् ।

त्यसैले त अझै पनि अमिलो मन बनाएर सहिद परिवार प्रेस विज्ञप्ति तथा मागपत्र तयार गरेर नेता, राजनैतिक दल र सरकारलाई बुझाउने क्रम रोकिएको छैन ।

२०३६ साल कात्तिक २४ देखि २९ गतेसम्म भएको हत्याकाण्डमा मारिएका १६ जना राजनीतिक कार्यकर्ताको सम्झनामा एमाले र एकीकृत माओवादीले हरेक वर्ष सहिद दिवसको कार्यक्रम गर्ने गरेका छन् ।

तर ती दुवै दल पटक–पटक सरकारको नेतृत्वमा पुगेका भए पनि उनीहरुलाई सहिद घोषणा गर्न सकेका छैनन् । आफ्नो क्षेत्रबाट पहुँच नपुगेकाले सरकारले सहिद घोषणा नगरेको पीडित परिवारको बुझाइ छ ।

तिनै वीर अघोसित सहिदको बल र बलिदानमा यतिबेला देशमा निक्कै ठूलो परिवर्तन आएको छ । पञ्चायत ढल्यो, बहुदल गयो, राजतन्त्र गयो र लोकतान्त्रिक गणतन्त्र आयो । तर उनीहरु अहिलेसम्म सहिदसमेत बन्न सकेका छैनन् ।