वेस्ट इन्डिजका कप्तान भन्छन्– हामीसँग युनिफर्म पनि थिएन • Image Khabar Image Khabar


वेस्ट इन्डिजका कप्तान भन्छन्– हामीसँग युनिफर्म पनि थिएन


Imagekhabar
२२ चैत्र २०७२, सोमबार ०२:०६

वेस्ट इन्डिजका कप्तान भन्छन्– हामीसँग युनिफर्म पनि थिएन

कोलकाता, चैत २२ । दोस्रो पटक विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको वेस्ट इन्डिज टिमका कप्तान डारेन सामीले आफ्नो देशको क्रिकेट बोर्डको व्यवहारको आलोचना गरेका छन् ।

कोलकाताको इडेन गार्डेनमा उपाधि हासिल गरेपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले भने, ‘हामी यो प्रतियोगितामा खेल्छौं या खेल्दैनौं भनेर मानिसहरु दोधारमै रहेको अवस्थामा हामीले यो यात्राको सुरुवात गर्‍यौं, हामीलाई यो यात्रा सुरु गर्नुपर्छ भन्ने थाहा थियो ।’

विश्वकप प्रतियोगितामा सामेल हुन भारत आउनु अघि टिमले निकै संकटको सामना गरेको उनले खुलासा गरे । उनले भने, ‘हाम्रा सामू धेरै संकट थिए, हामी आफ्नै क्रिकेट बोर्डबाट अपमानित महसुस गरिरहेका थियौं ।’ एक कमेन्टेटरले आफ्नो टिममाथि व्यक्त गरेको प्रतिक्रिया साह्रै तल्लो स्तरको रहेको स्मरण गर्दै उनले भने, ‘यिनीहरुसँग दिमाग छैन भनेर उनले हाम्रोबारेमा टिप्पणी गरेका थिए ।’

उनले आफ्नो टिम म्यानेजरका बारेमा भने, ‘यो प्रतियोगितामा हामीसँग रोल लेविसका रुपमा नयाँ म्यानेजर थिए, उनले यसअघि कुनै टिमको प्रवन्धन गरेका थिएनन् । हामी दुबईको एउटा क्याम्पमा थियौं तर हामीसँग युनिफर्म पनि थिएन ।’

सेमिफाइनलमा आयोजक भारतलाई पराजित गर्दै फाइनलमा पुगेको वेस्ट इन्डिजले फाइनलमा इङ्ल्याण्डलाई रोमाञ्चक म्याचमा पराजित गरेको हो । वेस्ट इन्डिजले दोस्रो पटक ट्वेन्टी ट्वेन्टी विश्वकप उपाधि हासिल गरेको हो । यसअघि सन् २०१२ मा उसले यो उपाधि हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्