भाइबाट बलात्कृत युवतीलाई प्रेमीले छाडे, जागिर पनि खोसियो, ‘खै कसरी बाँच्नु अब ?’ • Image Khabar Image Khabar


भाइबाट बलात्कृत युवतीलाई प्रेमीले छाडे, जागिर पनि खोसियो, ‘खै कसरी बाँच्नु अब ?’


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १०:३८

भाइबाट बलात्कृत युवतीलाई प्रेमीले छाडे, जागिर पनि खोसियो, ‘खै कसरी बाँच्नु अब ?’

रमेश गिरी
भक्तपुर, चैत २३ । गत फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छन् ।

आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि मध्यपुरथिमिकी उनी फागुन १३ गतेदेखि नितान्त एक्ली भएकी छन् ।

अझैपनि बलात्कारका कैयौं घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत जान्छ भनेर लुकाउने प्रवृत्ति हाबी भएको नेपालीे समाजमा बलात्कार गर्ने भाइलाई सजाय दिलाउँदा उनले स्याबासी पाउनुको बदला बेसहारा भएर भौंतारिनुपरेको छ ।

घर र समाजलेमात्रै उनलाई निकालेको होइन, तीनवर्षदेखि आफू काम गर्दै आएको काठमाडौं रत्नपार्कस्थित फनपार्कको मालिकलेसमेत जागिरबाट बिदा दिए । उनी बेरोजगार बन्न पुगिन् ।

सँगै जिउने कसम खाएर बिहे गर्ने वाचा गरेका प्रेमी सर्लाही जिल्लाका हुन् । काठमाडौं पढ्दै आएका त्यस युवकलेसमेत भाइले बलात्कार गरेको कारण देखाउँदै छाडिदिएपछि उनी यो समाजमा अब आफ्नो भन्ने कोही नभएको बताउँछन् ।

राससकर्मीसँगको भेटमा उनले भनिन्–‘घरमा दिउँसै भाइले बलात्कार गर्‍यो । आफ्नै घरमा म असुरक्षित भएँ । भाइविरुद्ध उजुरी दिएको भन्दै परिवार र आफन्तले निकालिदिए । न जाने ठाउँ छ न बस्ने ठाउँ ।’

उनले थपिन्–‘घटना थाहा पाएपछि फनपार्क सन्चालकले नोकरीबाट निकालिदियो । बिहे गरेर जीवनभर सँगै बाँच्ने कसम खाएको प्रेमीले छाडिदियो । अब म कहाँ जाउँ, के गरौं ?’

बयान लिनका लागि काम गर्ने ठाउँ फनपार्कमै प्रहरी भ्यान पुगेपछि घटनाबारे थाहा पाएका फनपार्क सन्चालक र साथीहरुले आफूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरेको बताउँदै उनी भन्छिन्–‘अपराध मैले नै गरेको हुँ, मै अपराधी हुँ, म खराब आचरण भएको केटी हुँ जस्तो व्यवहार गरे सबैले । आपत्पर्दा साथ दिनेहरुसमेत कोही भएनन् । म निकै विचलित भएकी छु ।’

स्नातक तहको अध्ययन गरिरहेकी उनी अहिले काठमाडौंको एउटा गल्र्स होस्टेलमा बस्दै आएकी छन् । विगतमा आफूले काम गरेर बचत गरेको पैसाले मासिक रु सात हजार होस्टेललाई तिरेर बसे पनि अहिले पैसा सिद्धिन लागेर उनमा चिन्ता थपिएको छ ।

‘होस्टेलमा तिर्ने पैसा नभएर त्यहाँबाट पनि निकालिएँ भने कहाँ जाने ? त्यसको कुनै टुंगो छैन’–उनी भन्छिन्–‘म पढाइलाई निरन्तरता दिन चाहन्छु । स्नातकोत्तरसम्म पढ्ने त्यसपछि लोकसेवाको परीक्षा उत्तीर्ण गरी सरकारी नोकरी गर्ने चाहना छ तर अहिले बाँच्नकै लागि नोकरीसमेत नहुँदा आफ्ना इच्छा र सपनाहरु चकनाचुर भएका छन् । खै कसरी बाँच्नु अब ?’

उनको रुवाइले अबको जीवनलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता छर्लंग पारेकोे थियो । त्यसमाथि पनि आफ्नो लोग्नेलाई जेल हालेको भन्दै भाइबुहारीले ‘जे पनि हुनसक्छ, बचेर हिँड्नु’ भनेर धम्की दिएका कारण उनी निर्धक्क भएर हिँड्नसमेत सकेकी छैनन् ।

उनी भन्छिन्–‘म बस्ने होस्टेलका सबैलाई थाहा छ । होस्टेलबाट बाहिर निस्केर हिँड्दा पनि हजारपटक सोचेर निस्कनुपर्छ । कसैले केही गर्ला कि भन्ने डर लाग्छ । यस्तो अवस्थामा पनि मेरो आफ्नो भन्ने कोही छैन ।’

आठ वर्षअघि बुबा बितेपछि ट्राफिक प्रहरीमा रहेका दाइ, थिमिकै एक विद्यालयमा पढाउने दिदी र आफैंले घर–व्यवहार धान्दै आएको बताउने उनी भन्छिन्–‘भाइले मलाई बलात्कार गरेको कुरा आमा, दिदी, आफन्त कसैले विश्वास गरेनन् । परिवारका सबैले जाहेरी फिर्ता लिनू भनेर धेरैपटक दबाब दिए । भाइबाटै थप असुरक्षित महसुस गरेर मैले मानिनँ । त्यसपछि परिवार पनि आफ्नो भएन ।’

बलात्कार भएपछि तीन दिन प्रहरी वृत्त थिमिकै संरक्षणमा बसेर तीन दिन ओरेकमा बसेको र १७ गते घरमा जाँदा दिदीले बोल्दै नबोली छुद्र व्यवहार गरेको उनी बताउँछिन् ।

बुहारीले पटक–पटक अश्लील शब्द प्रयोग गर्दै गाली–गलौच गरी आक्रमणको प्रयास गरेपछि बाध्य भएर घर छोड्नुपरेको उनको भनाइ छ ।

पढाइ छाडेर सधैं कुलतमा लागेका, आफूले भनेको नमाने घरका सबैलाई कुटपिट गर्दैआएका भाइले श्रीमती माइत गएको दिन फागुन १२ गते दिउँसो १२ः३४ बजे कोठामा आएर एक्कासि आफ्नो मुखमा हात छिराएर चल्नै नसक्ने गरी थिचेर लुगा च्यातेका र बलात्कार गरेको बयान टिपिएको भक्तपुर जिल्ला अदालतमा रहेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारी बताउँछन् ।

गत फागुन २८ गते भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई दोषी ठहर गर्दै जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार छ वर्ष कैद र हाडनाता करणी १ नम्बर ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेपछि भाइ जेल चलान भएको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्य भन्छिन्–‘आफ्नो सबै भएर पनि बेसहारा बन्नुपरेको उनलाई कसैले रोजगारी दिए जीवन अलि सजिलो हुने थियो । त्यस्तो व्यक्तिलाई समाजले संरक्षण, हौसला र आँट दिनुपर्ने हो तर त्यसो हुन सकेन ।’

एउटा रोजगारीको व्यवस्था मात्रै गरिदिए जीवन चलाउन ती युवतीलाई सहज हुने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्