
बर्दिया, चैत २४ । मानिसको खानपान बिग्रिएपछि कुनै न कुनै रोग लाग्छ भन्ने कुरा सामान्य हो । तर माटोलाई पनि मानिसलाई जस्तै रोग लाग्छ भन्ने कुरा सुन्दा आश्चर्य लाग्छ सक्छ ।
हिजोआज रसायनिक मल र कृषिमा भएको आधुनिकतासँगै माटोमा पनि ग्याष्ट्रिक, सुकेनास,डाईरियालगायतका रोग देखिन थालेका छन् ।
मानव सभ्यताको विकाससँगै कृषि युगदेखि नै मानिसले माटोलाई अनाज उत्पादनको कार्यमा प्रयोग गर्दै आएको पाइन्छ । उत्पादन बढाउन पछिल्लो समय विश्व भरिनै कृषि क्षेत्रमा रसायनिक मलको प्रयोगमा वृद्धि भइरहेको छ ।
यस्ता रसायनिक तत्वको अत्याधिक प्रयोगका कारण माटोमा रोगहरु समेत देखा पर्न थालेको पाईन्छ । बर्दियाको माटोमा ग्याष्ट्रिक, सुकेनास र डाईरिया रोग देखिएको छ ।
ग्याष्ट्रिक भएको माटोमा अम्लियपन, सुकेनास भएको माटोमा कडापन र डाईरिया भएको माटोमा हिलेपन भएपछि माटोको गुणस्तर घट्दै गएको बर्दियाका वरिष्ठ जिल्ला कृषि विकास अधिकृत परशुराम रावत बताउँछन् ।
माटोको गुणस्तर घटेपछि उत्पादनमा र्हास आएको छ । एकै किसिमको कृषि प्रणाली अपनाउँदा माटोको उर्वराशक्तिसमेत हराउँदै गएको छ । उत्पादनलाई बृद्धि गर्दै माटोको गुणस्तर जोगाउन गोठेमलको प्रयोग गर्नुपर्ने कृषि कार्यालयको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्