
काठमाडौं, चैत २५ । नेपालका लागि भारतका राजदूत रणजित रायले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहेको बताएका छन् ।
भारतीय स्वतन्त्रता सेनानी बेगम हजरत महलको राजधानीस्थित जामे मस्जिदमा रहेको समाधिस्थलमा विहीबार श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताए ।
कसैले चाहेर पनि नेपाल–भारतबीचको सम्बन्ध नबिग्रने भन्दै उनले आपसी विश्वासबाटै दुई देशबीचको सम्बन्ध अझ मजबुद् हुने बताए ।
उनले भारतले नेपालको विकासमा सहयोग गर्न चाहेको भन्दै नेपालको विकास भारत सरकारको प्राथमिकता भएको पनि बताए ।
भारतीय स्वतन्त्र सेनानी बेगम हजरत महललाई तत्कालीन सरकारले शरण दिएर भारतीयहरुलाई गुण लगाएको राजदूत रायको भनाइ थियो ।
कार्यक्रममा नेपाल–भारत मिलन परिषद्का अध्यक्ष समीम अन्सारीले स्वतन्त्र सेनानी बेगमप्रति नेपालले देखाएको सम्मानले पनि नेपाल र भारतबीचको सम्बन्ध सयौं वर्षदेखिको रहेको पुष्टि भएको बताए ।
बेगम हजरतलाई तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८५९ मा शरण दिएका थिए भने उनको नेपालमै रहँदा सन १८७९ मा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्