
काठमाडौं, चैत २५ । नेपाली कांग्रेस व्यवस्थापिका–संसद, संसदीय दल कार्यसमितिको शुक्रबार (भोलि) हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।
कांग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक/एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा शुक्रबार निर्वाचन हुँदैछ ।
पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
प्रदेश नम्बर–१ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नम्बर–२ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नम्बर–३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुंगेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश नम्बर–४ बाट कमलप्रसाद पंगेनी र रामचन्द्र पोखरेल, प्रदेश नम्बर–५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नम्बर–६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नम्बर–७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, समावेशीतर्फ आदिवासी÷जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ ।
आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिएका छन् ।
मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिएका छन् ।
कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ ।
त्यसका लागि विहीबारै उक्त विद्युतीय भोटिङ मेसिनको निर्माणकर्ता राम-लक्ष्मण रिमालले कांग्रेस सांसदहरुलाई मतदान गर्ने तरिकाकाबारेमा जानकारी गराएका छन् ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि विहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको थियो ।
समितिका उम्मेदवारीको अन्तिम नामावली विहीबारै अपराह्न ५ः३० बजे प्रकाशन गरिनेछ ।
कार्यसमितिको निर्वाचन शुक्रबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने समितिले जनाएको छ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।
कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ ।
त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ । रासस
प्रतिक्रिया दिनुहोस्