Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


त्रिपाल खरिदकान्डः कामनपाका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं, चैत २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा भ्रष्टाचार गरेको भन्दै काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार कामपाका तत्कालीन कार्यकारी प्रमुख तथा हाल सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहचिव पूर्णभक्त तण्डुकार, तत्कालीन विभागीय प्रमुख शान्तराज पोखरेल, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर, प्रशासन महाशाखा प्रमुख अखतबहादुर साउद, क्षितिज इन्टरप्राइजेजका सन्चालक नन्दराज पोखरेल तथा न्यू चौधरी ट्रेडर्सका सन्चालक सुन्दरलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगकाअनुसार तत्कालीन कार्यकारी प्रमुख तण्डुकार, विभागीय प्रमुख पोखरेल, वित्त विभाग प्रमुख मानन्धर र प्रशासन महाशाखा प्रमुख साउदसँग जनही रु २४ लाख १० हजार २१४ बिगो दाबी गरिएको छ ।

यस्तै, त्रिपालको ठेकेदार क्षितिज ट्रेड इन्टरप्राइजेजका सन्चालक पोखरेलसँग रु दुई लाख ९१ हजार ३२३ र न्यु चौधरी ट्रेडर्सका सन्चालक सुन्दरलाल चौधरीसँग रु २१ लाख १८ हजार ८९० बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

भूकम्पपछि मानवीय सहायता उपलब्ध गराउने र भूकम्पपीडितलाई अस्थायी आश्रम उपलब्ध गराउने सन्दर्भमा अनावश्यक लाभ लिने, पीडित व्यक्ति तथा परिवारमा परेको मानवीय संकटको मौका उठाएर बढी मूल्य लिइ त्रिपाल बिक्री–वितरण गरेको उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार भएको ठहर भएको हो ।

प्रयोग गर्न अनुपयुक्त, कम गुणस्तर र साना आकारका प्लास्टिक त्रिपाललाईसमेत परल मूल्यभन्दा अस्वाभाविक मूल्य राखी भुक्तानी गरेको, काठमाडौं महानगरपालिकाका राष्ट्रसेवक कर्मचारी तथा आपूर्तिकर्ताले आफूलाई गैरकानुनी लाभ लिएको अनुसन्धानबाट पत्ता लागेको आयोगले जनाएको छ ।

आयोगले ओरापी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले त्रिपाल घोटाला प्रकरणमा सहभागी सबैलाई कारबाही गर्न र सत्य तथ्य सार्वजनिक गर्न यसअघि नै निर्देशन दिएको थियो । रासस