१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


चिकित्सा विज्ञानलाई चुनौती दिँदै पोखरामा ‘बाबा’ यसरी बसे भूमिसमाधिमा


0
Shares

प्रदीप पौडेल

पोखरा, चैत २६ । चिकित्सा विज्ञानलाई चुनौती दिँदै पोखरामा एकजना ‘बाबा’ भूमिसमाधिमा बसेका छन् ।

सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य पोखराको रामघाटस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठ कार्यालयमा शुक्रबारदेखि ९ दिनका लागि हावाबिनै समाधिमा बसेका हुन् ।

समाधिका लागि ५ फिट गहिरो र ३ फिट चौडा काठको बाकस बनाइको थियो । जसमा हावा छिर्न नदिन बाहिरबाट प्लास्टिक, सेतो कपडा र कम्बलले बेरिएको छ भने बाकसमा चारओटा ताला लगाइएको छ ।

बासकको माथिल्लो भागमा बालुवा माटोले पुरिएको छ । त्यसमाथि जमरा छरिएको छ । बाबा समाधिमा बसेको स्थानसम्म पुग्न तीनओटा कोठाको चाबी खोलेर जानुपर्ने हुन्छ ।

कसैले ताला खोल्न नदिन लाहाछापसमेत लगाइएको छ । उनले हरेक वर्ष चैतेदसैं तथा बडादसैंमा विशेष समाधि साधना गर्दै आएका छन् ।

वि.सं. २०६५ सालको रामनवमीमा उनी सुनसरीको चतरामा भूमिसमाधि बसेका थिए ।

भूमिसमाधिमा बस्नुअघि शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्र र मानवकल्याणका लागि आफू भूमि समाधिमा बसेको बताए ।