नेपाल पूर्ण संघीयतामा जानै सक्दैन • Image Khabar Image Khabar


नेपाल पूर्ण संघीयतामा जानै सक्दैन


Imagekhabar
२८ चैत्र २०७२, आईतवार ०३:२७

NCP Prachanda bamdeb kp oli primeminister

बामदेव गौतम –

संसारमा अहिलेसम्म जम्मा २७ मुलुक संघीयतामा रहेका छन् । संघीयतामा गएका जनसंख्या भने संसारको कुल जनसंख्याको करिब ४० प्रतिशत रहेको छ । संसारका सबै संघीय राज्यहरु अनेक राष्ट्रहरु मिलेर बनेका छन् । नेपालबाहेक अरू कुनै पनि एकात्मक राज्य अहिले संघीयतामा छैन । नेपाल एउटामात्र राष्ट्र र त्यसमा पनि एउटामात्र राज्य भएको मुलुक हो । संघीयतामा गएका राष्ट्रहरुका बीच संघीयतामा जाँदा सीमानाका बारेमा, नागरिकताका बारेमा र अरू कुनै पनि विषयमा झगडा र युद्ध कहीँ भएका छैनन् । बरु संघीयतामा गइसकेपछि पुनः राज्य विभाजनको अवस्था आउँदा भने विभिन्न रूपमा द्वन्द्व भएको देखिएको छ । संघीय राज्यमा रहेका कुनै पनि राष्ट्र पहिले नै निर्धारण भइसकेको सिमाना सहित सामेल भएका छन् । तसर्थ त्यहाँ सीमानाको झगडा हुने अवस्था नै रहेन ।

आज अगाडिसम्म संघीय राज्यको निर्माण प्रक्रिया दुई प्रकारको मात्र देखिएको छ । त्यसमध्ये एउटा हो– कुनै साम्राज्यको उपनिवेशका रूपमा रहिसकेका राष्ट्रहरु छुट्टिन पाउने आत्मनिर्णयको अधिकारसहित सँगै रहन मञ्जुर गर्ने प्रक्रिया । अर्को हो– स्वतन्त्र रहेका राष्ट्रहरु आपसी समझदारी विकास गर्दै छुट्टिन पाउने अधिकार सहित संघीय राज्य निर्माण गर्ने प्रक्रिया । अंग्रेजीमा एउटालाई ‘होल्डिङ्ग टुगेदर’ र अर्कोलाई ‘कमिङ्ग टुगेदर’ भन्ने चलन छ । यिनीहरुलाई मिलेर बस्दासम्म सँगसँगै बस्न पाउने र सँगै बस्न नसक्ने अवस्था आएपछि छुट्टिन पाउने अधिकार संयुक्त राष्ट्रसंघबाटै प्राप्त छ । संसारका कतिपय शक्तिशाली राज्यहरुले संघीय संरचनामा गइसकेपछि छुट्टिन खोज्नेहरुमाथि निर्मम दमन गरेर सँगै राखेका छन् । अहिले तिनीहरु सबै राष्ट्रलाई एउटै राष्ट्रमा विलय गराउन लागिरहेका छन् ।

नेपाल विगत अढाइसय वर्षदेखि अंग्रेज साम्राज्यवादको नाकैमुनि स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो राज्य सञ्चालन गरेर आएको मुलुक हो । यहाँका जनतालाई त्यसबेलादेखि नै नेपालीका रूपमा सम्मान गरिएको छ । संसारको सवभन्दा पुरानो दस्तावेज वेद, उपनिषद् र महाभारतमा नेपाललाई राष्ट्रको मान्यता प्रदान गरिएको छ । यो हजारौँ वर्ष पहिलेको कुरा हो । त्यसबेला राष्ट्रउन्मुख राज्यहरुलाई नै राष्ट्र भनेको हुनुपर्छ । नेपालका दुर्लङ्घ्य हिमाल र पहाडका बिचबाट बग्ने ठुला नदीहरुबाट विभाजित भूभागमा रहनु पर्दा लामोसमयसम्म नेपालमा जातिहरु र नेपालका भाषाहरुको सम्मिलन हुनसकेन । त्यसैको कारण आज पनि नेपाल बहुजातीय र वहुभाषिक अवस्थामा रहेको छ तर सबै जाति र भाषालाई एकतामा ल्याउने गरी सम्पर्क भाषाका रूपमा नेपाली भाषाले आफूलाई विकास गरेको छ । सम्पर्क भाषाका रूपमा विकसित हुँदा संस्कृत भाषाबाट मात्र होइन, गैरसंस्कृत भाषाबाट पनि नेपाली भाषाले शब्दहरुलाई ग्रहण गरेको छ । नेपाली भाषा आफैमा परिष्कृत भाषा हो । यसमा अत्यन्त लचकता छ । यसै लचकताका कारणले नेपाली भाषा नेपालका सबै जाति र भाषाका जनताको साझा एवं सम्पर्क भाषा बन्न सकेको हो । नेपालमा बसोवास गर्ने प्रत्येक नेपालीले दुई वा त्योभन्दा बढी भाषा सहजै बोल्ने र बुझ्ने गर्दछन् । ५ वर्षमाथिका हरेक भाषाभाषी नेपालीले नेपाली भाषा बुझ्दछन् र १० वर्ष माथिका सबैले नेपाली भाषा बोल्न सक्दछन् ।

नेपालको राजधानी काठमाडौँ उपत्यकामा यादव, किराँत, जनक, लिच्छवी, मल्ल, कर्नाट र खस जातिका राजाहरुले शासन गरेका छन् । यीमध्ये यादव, जनक, लिच्छवी, मल्ल, कर्नाटवंशी राजाहरु सबै आज मधेसी भन्ने तराई मूलका थिए । किराँत र खस राजाहरु भने पहाडकै रहेका छन् । अवधिको हिसावबाट हेर्न हो भने यादवहरुको अवधि करिब एक हजार, जनकको एक सय, लिच्छविको करिब सात सय, मल्लहरुको करिब नौ सय, कर्नाटको करिब ६० वर्ष मानिन्छ । पहाडिया मूलका किराँतहरुको करिब एक हजार र खस शाहको २४० वर्ष रहेको छ । यसरी हेर्दा तराई मूलका राजाहरुले करिब दुई हजार सात सय साठी वर्ष र पहाडिया मूलका राजाहरुले करिब एक हजार दुई सय चालिस वर्ष राज गरे । यी सबैले नेपालमा राज गरेर समग्रमा आफ्नो जातीय राज्य होइन, नेपाल राज्य र नेपाल राष्ट्र निर्माण र विकास गर्न योगदान गरे ।

काठमाडौं उपत्यका नेपालको सभ्यता, संस्कृति र अर्थतन्त्रको पहिलेदेखि केन्द्र थियो । आज पनि केन्द्रका रूपमा छ । नेपाल कहिले आजको भन्दा साँघुरो भएको छ । कहिले आजको भन्दा ७÷८ गुना ठुलो भएको छ । नेपाल पूर्वमा टिष्टा, पश्चिममा सतलज, दक्षिणमा गङ्गा र उत्तरमा हिमालय पारिसम्म धेरै पटक पुगेको छ । पछिल्लो पटक पृथ्वीनारायण शाहले तिनै सिमाना हस्तगत गरे । जहाँ पहिले नै धेरै पटक नेपाल पुगिसकेको थियो । जब नेपालको एकीकृत राज्यको केन्द्र कमजोर हुन्थ्यो, त्यतिबेला रैथाने सामन्तहरुले आफू स्वतन्त्र भएको घोषणा गर्दथे । जब एकीकृत राज्यको केन्द्र बलियो हुन्थ्यो, रैथाने रजौटाहरु एकीकृत राज्यमा समाहित हुन्थे । यो क्रम धेरै पटक चल्यो । यसलाई अन्त्य गरेर एकीकृत नेपाल राज्यको निर्माण पृथ्वीनारायण शाहले गरे ।

नेपाल नाम लिच्छवी, मल्ल वा शाह राजाहरुले राखेका होइनन् । यो नाम चार हजार वर्षपहिले काठमाडौंका त्यसबेलाका जनताले राखेका हुन् । नेपाल शब्द नै जनबोलीमा पुग्दा नेवारी भएको हो । नेपाल राज्यको उत्पत्ति पनि यही काठमाडौंमा भएको हो । राज गर्ने राजाहरु फेरिएका छन् तर नेपाल राज्य त्यसबेलादेखि निरन्तर छ । आजको संस्कृति, वास्तुकला, नेपाली भाषा र अर्थतन्त्र सबै काठमाडौं उपत्यकामै विकसित भएका र नेपालभरि फैलिएका हुन् । नेपाल राज्यमा बसोबास गर्ने जनता राष्ट्रमा विकसित हुँदा नेवारी वा अरू भाषाले राष्ट्रको मुख्य वा सम्पर्क भाषाको रूप लिन सकेनन् । सबै भाषाको विकास आफ्नै किसिमले भएको छ । जुन भाषाले अरू भाषाका शब्द र बोलीलाई ग्रहण गर्न सके, तिनले विकास गरे । जो जति कट्टर भए त्यति सूक्ष्मीकरण हुँदै समाप्त भए । राजाहरुले जसलाई सरकारी कामकाजको भाषा बनाए त्यस भाषाको मात्र विकास भएको छ भन्ने तर्क अर्धसत्य मात्र हो । यदि त्यसो हुँदो हो त उपत्यकामा नेवारी भाषाको एकरत्ति विकास हुने थिएन । लिच्छवी राजाहरुको मातृभाषा र सरकारी भाषा पाली संस्कृत थियो । मल्ल राजाहरुको मातृ र सरकारी भाषा मैथली संस्कृत थियो । खस राजाहरुको मातृभाषा र सरकारी भाषा खस संस्कृत थियो । जुन पछि नेपाली भाषामा विकसित भएको हो ।

उपर्युक्त विश्लेषणको निष्कर्षमा जाँदा हाम्रो राष्ट्र र राज्य आन्दोलनकारीले भनेजस्तो बहुराष्ट्र र संघीय राज्यमा जानै सक्दैन । तर पनि हामीले राज्यको पुनःसंरचना गर्दै संघीयतामा जाने संवैधानिक व्यवस्था गरिसकेका छौ । संघीयतामा जाने कुनै आधार नहुँदा नहुँदै पनि किन हामीले यस्तो गर्‍यौ भन्ने प्रश्नका सन्दर्भमा जाँदा हामी विभिन्न कारणले गहिरो अध्ययन विना संघीयतामा जाने निर्णय गरेका रहेछौं भन्नै पर्ने देखिन्छ । माओवादी आन्दोलनलाई शान्तिमा रूपान्तरण गर्ने दौरानमा सम्झौता गर्दाखेरी संघीयताका सम्वन्धमा पर्याप्त ध्यान पुर्‍याउन सकेनौं ।

नेपाल र भारत बीचको तुलनात्मक अध्ययन गर्दा हामी देख्छौं कि भारतमा २००० भन्दा धेरै जातीय समूहहरु बसोबास गर्छन् । भारत पौराणिक कालदेखि बहुराष्ट्रिय अवस्थामा रहेको छ । नेपाल पौराणिक कालदेखि एकल राष्ट्रिय अवस्थामा छ । बहुराष्ट्रिय र बहुराज्यीय अवस्थामा रहेको भारत अर्ध संघीयतामा गएको छ । एकल राष्ट्र र एकल राज्य भएको नेपाल पूर्ण संघीयतामा जानै सक्दैन । भारतमा अहिले मान्यता प्राप्त राज्यहरु २७ वटा छन् । यी सबै राष्ट्रका रूपमा विकसित भइसकेका राज्यहरु हुन् । भारतलाई अंग्रेजले उपनिवेश बनाउँदा ६०० स्वतन्त्र राज्यहरु त्यसमा रहेका थिए । तिनीहरु अधिकांश त्यसबेला नै राष्ट्रका रूपमा विकसित भइसकेका थिए । भारतीय युनियनमा सामेल भइसकेको कुनै पनि राज्य र समुदायले छुट्टिन पाउने कल्पना पनि गर्न सक्दैन । त्यस किसिमको थोरै प्रयत्नमात्र कसैले गरे भने त्यसको परिणाम मृत्यु हुन्छ । अहिलेसम्म बनेका भारत सरकारका क्रियाकलापहरुलाई हेर्दा भारतको केन्द्रीय राज्य एकल भारत राष्ट्र निर्माणमा लागेको देखिन्छ ।

नेपालमा करिब १२५ जाती, भाषाभाषीका समुदायहरु छन् । ती सबै नेपाली जातिका रूपमा विकसित भइसकेका छन् । नेपाल पौराणिक कालदेखि एकल राष्ट्र र राज्यको अवस्थामा छ । आज नेपाल पूर्ण रूपले आधुनिक राष्ट्रका रूपमा विकसित भइसकेको पनि छ । यस्तो अवस्थामा नेपाल पूर्ण संघीयतामा जानै सक्दैन । अर्ध संघीयता भनेको कतिपय संरचनागत पक्षमा संघीयताको भान हुने तर सारमा भने विकेन्द्रीकरणको अवस्थामा नै रहने हो । त्यसो भएर नेपालको संविधानमा रहेका घातक प्रावधानहरुलाई छिटोभन्दा छिटो संशोधनबाट सच्याउने काम गर्नुपर्छ । नेपालको वस्तुगत अवस्था अनुरूप सबै संरचनाहरुको निर्माणतर्फ लाग्नुपर्छ । जनतालाई अधिकार सम्पन्न गराउन दृढतापूर्वक विकेन्द्रीकरण लागु गर्नुपर्छ ।
(अखिल नेपाल किसान महासंघको छैटौं राष्ट्रिय महासम्मेलनमा महासंघका अध्यक्ष गौतमले प्रस्तुत गरेको सैद्धान्तिक–राजनीतिक प्रतिवेदनबाट)

 

प्रतिक्रिया दिनुहोस्