मासिक ४५ हजार मेट्रिकटन ग्यास आयात् गर्न माग • Image Khabar Image Khabar


मासिक ४५ हजार मेट्रिकटन ग्यास आयात् गर्न माग


Imagekhabar
२८ चैत्र २०७२, आईतवार १४:०४

मासिक ४५ हजार मेट्रिकटन ग्यास आयात् गर्न माग

काठमाडौं, चैत २८ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आपूर्ति सहज नहुन्जेल मासिक ४५ हजार मेट्रिकटन ग्यास आयात् गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

गत साउनदेखि चैत महिनासम्म कुल २ लाख ३२ हजार १ सय २८ मेट्रिकटन ग्यास आयात् गर्ने कोटा निर्धारण गरेपनि जम्मा १ लाख ९ हजार ५ सय ५० मेट्रिकटन ग्यास आयात् गर्न सकिएको थियो ।

सो कोटामध्ये १ लाख २२ हजार ५ सय ७८ मेट्रिकटन ग्यास आयात् हुन नसक्दा अहिले ग्यासको आभाव भएको संघले जनाएको छ ।

आपूर्ति सामान्य नहुन्जेल मासिक ४५ हजार मेट्रिकटन ग्यास आयात् गर्नुपर्ने संघको माग छ ।

साथै, संघले केही ठाउँमा भएका छिटपुट दोषको आरोपमा समस्त उद्योगी–व्यवसायीलाई नमुछ्नसमेत आग्रह गरेको छ ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले नाकाबन्दीको समयमा भारतीय ग्यास बुलेटहरुलाई रिरुट एवं डिटेन्सनमा राख्दा थप रकम तिर्ने लिखित सहमति गरेपनि सरकारले सो रकम नतिरेको बताए ।

उनले पटक–पटक रकम तिर्ने मिति तोक्दापनि सरकारबाट आश्वासनमात्र आउने गरेको बताए ।

उनले अप्रिल १५ तारिखसम्म रकम नतिरे भारतीय ढुवानीकर्ताहरुले ग्यास ढुवानी रोक्ने चेतावनी दिएको पनि बताए ।

संघले ग्यास आपूर्ति सहज बनाउन चैत्र २९ गतेदेखि उपत्यकाका विभिन्न ठाउँमा ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्