खोटाङमा बस दुर्घटना, २३ जनाको मृत्यु • Image Khabar Image Khabar


खोटाङमा बस दुर्घटना, २३ जनाको मृत्यु


Imagekhabar
३० चैत्र २०७२, मंगलवार ०४:११

खोटाङमा बस दुर्घटना, २३ जनाको मृत्यु

खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् । मृतकमध्ये १६ जना पुरुष र सात जना महिला छन् ।

घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । घाइतेहरुमध्ये गम्भीर अवस्थामा रहेका २५ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ भने सात जनाको हलेसीमा उपचार भईरहेको दिक्तेलका ट्राफिक इन्चार्ज तेजकुमार बस्नेतले जानकारी दिए ।

खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको बा२ख ६३७६ नम्बरको बस आज बिहान ५ बजे काभ्रेटारमा सडकबाट करिव दुई सय मिटर तल खसेको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ ।

कच्ची सडक निर्माणको क्रममा ठेकेदारले भित्तातर्फ ढुंगा थुपारेको र छेउतर्फको माटो नयाँ भएकोले बस भासिएर तल खसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ र हलेसीबाट गएको प्रहरी र सेनाको टोलीले घटनास्थलमा घाइतेहरुको उद्दार गरेका थिए ।

घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर पश्चिममा पर्दछ । बसमा ५४ जना यात्रु सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्