
राजेन्द्र ढकाल
काठमाडौं, चैत ३० । शक्तिशाली संवैधानिक र राजनीतिक पदहरुमा नयाँ व्यक्तिहरुको पदस्थापनाले वर्ष २०७२ चर्चित रह्यो ।
नयाँ संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन गरिने संवैधानिक व्यवस्था नै गरियो ।
संविधान जारी भएकै महिना असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्रीमा निर्वाचित भए ।
संविधान जारी भएकोमा असन्तुष्ट हुँदै आन्दोलनमा उत्रेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संविधानलाई आलोचनात्मक समर्थन गरेको राप्रपा नेपालसम्मको साथ लिन ओली सफल बने ।
नेपालमा सरकार परिवर्तन हुँदा भारतीय भूमिकाको लेखाजोखा गरिने परम्पराकैबीच मधेस आन्दोलनपछि भारतीय नाकाबन्दी पनि सुरु भएकाले यसपटकको प्रधानमन्त्री निर्वाचनले विशेष माहोल सिर्जना गर्यो ।
संसद बहिस्कार गरेर आन्दोलनमा उत्रिएकोे मधेसी मोर्चा पनि प्रधानमन्त्री निर्वाचनमा भाग लिन संसद प्रवेश गर्यो ।
मोर्चाको यो कदमलाई कांग्रेसले आफूहरुले प्रधानमन्त्रीको उम्मेदवारी दिएर आन्दोलनरत् दललाई संसदमा फिर्ता ल्याउन सफल भएकोरुपमा व्याख्या गर्यो भने कतिपयले भारतको असफल चलखेलकारुपमा बुझे ।
सरकार परिवर्तनकोलगत्तै सभामुखमा निर्वाचित भएर पूर्वमाओवादी लडाकू ओनसरी घर्ती मगरले प्रथम महिला सभामुखको नयाँ इतिहास बनाइन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि समर्थन पाएर उनी निर्विरोध निर्वाचित भइन् । उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव पनि निर्विरोध निर्वाचत भए ।
नेपाली कांग्रेस र एमालेबीच अघिल्लो सरकार बन्दै आलोपालो नेतृत्वको भद्र सहमति भएको चर्चा थियो ।
त्यसअनुसार एमालेबाट प्रधानमन्त्री र कांग्रेसबाट राष्ट्रपति बन्ने अनुमान गरिएको थियो । तर, कांग्रेसले प्रधानमन्त्रीमा सहमति नगरी छुट्टै उम्मेदवारी दिएपछि एमालेले राष्ट्रपतिमा अलग्गै उम्मेदवारी प्रस्तुत गर्यो ।
फलतः सत्ता गठबन्धनको समर्थनमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी कार्तिक ११ गते नेपालको प्रथम महिला राष्ट्रपतिकोरुपमा निर्वाचित भइन् ।
प्रथम महिला राष्ट्रपतिकोरुपमा भण्डारीको विजयले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन सफल भयो । धेरै नेपाली महिलाहरुले भण्डारीको विजयलाई महिला स्वाभिमानसँग गाँसेर हेरे ।
कात्तिक १४ गते एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वलडाकू कमान्डर नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचत भए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्