
पोखरा, वैशाख १ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो भव्य समारोहबीच विमानस्थल शिलान्यास गर्दैछन् ।
शिलान्यास कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु, मन्त्री, सांसद, सरकारी उच्चअधिकारी तथा पोखरेलीहरुको ठूलो सहभागिता रहने बताइएको छ ।
विमानस्थल निर्माणको ठेक्का चिनियाँ सिएएमसी इन्जिनियरिङ कम्पनीले पाएको छ ।
पोखराको आकाशमा केही दिनदेखि लागेको बाक्लो तुवाँलोका कारण भने उडान प्रभावित हुँदा अतिथिलाई आउन समस्या भइरहेको छ । दिनभरी आकाश नखुलेपछि हिजो धेरैजसो गाडीमै पोखरा पुगेका छन् । आज पनि आकाश खुल्ने सम्भवना क्षीण देखिएको छ । बिहानैदेखि यहाँको आकाश तुँवालोले ढाकेको छ ।
यता, विमानस्थल शिलान्यास हुने भएपछि पोखरेली भने उत्साहित भएका छन् । पश्चिमाञ्चल क्षेत्रको विकासको इञ्जिनका रुपमा हेरिएको यो विमानस्थल बनाउनका लागि यहाँका बासिन्दाले संघर्ष गर्दै आएका थिए । चीन सरकारको २१ अर्ब ऋण सहयोगमा यो विमानस्थल बनाउन लागिएको हो ।
प्रधानमन्त्री ओलीको भर्खरै सम्पन्न चीन भ्रमणमा एक्जिम बैंकसँग ऋण सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्