
काठमाडौं, वैशाख ३ । नेकपा एमालेले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको सहज वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी केन्द्रीय कमिटीको छैटौं बैठकले खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभाव र कालोबजारीयाहरुलाई कडाइकासाथ नियन्त्रण गर्न ध्यानाकर्षण गराएको हो ।
बैठकले संविधान घोषणा भएको ६ महिना बितिसक्दा पनि संसदको नियमावली बन्न नसकेको भन्दै नेपाली कांग्रेसलगायतका सबै दललाई गम्भीर भएर नियमावलीलाई अन्तिमरुप दिन आग्रह गरेको छ ।
भूकम्प गएको वर्ष बित्नलाग्दा पनि राहत र पुनःनिर्माणको काम अगाडि बढ्न नकसेकेको भन्दै पुनःनिर्माणको कामलाई द्रुत र प्रभावकारी बनाउन सरकारसँग माग पनि गरिएको छ ।
बैठकले संविधान घोषणापछि पार्टीलाई संघीयताअनुरुप लैजान प्रदेश कमिटी गठन गर्ने त्यसको अन्तिम टुंगो स्थायी कमिटीले लगाउने निर्णय भएको एमाले सचिव एवं प्रचार–प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
तराई–मधेसमा आन्दोलनरत् पार्टीहरुसँग वार्ता र छलफल गर्ने निर्णय पनि गरिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्